पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढाउने सरकारको घोषणा, २०८५ भदौसम्म शुल्कमा विशेष छुट

Share:

काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीहरूलाई आकर्षित गर्न विशेष सहुलियत घोषणा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै २०८५ साल भदौ मसान्तसम्म यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।

यससँगै सरकारले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने प्रस्तावसमेत अनुमोदन गरेको छ। सरकारले यस्तो सहुलियतले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न, विदेशी वायुसेवा कम्पनीलाई आकर्षित गर्न तथा पर्यटन र हवाई सेवाको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरेको छ।

लामो समयदेखि अपेक्षित अन्तर्राष्ट्रिय उडान विस्तार हुन नसकेको अवस्थामा सरकारले ल्याएको यो निर्णयलाई दुवै विमानस्थलको व्यावसायिक सञ्चालनलाई गति दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: