पर्वतमा बोलेरो दुर्घटना: प्रहरी र स्थानीयद्वारा घाइतेको तत्काल उद्धार

Share:
accident

पोखरा  । बागलुङबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ च ०११५ नम्बरको बोलेरो पिकअप शनिबार बिहान पर्वतको कुश्मा नगरपालिका-४, माझमेलामा दुर्घटनाग्रस्त भएको छ। बिहान करिब १०:५० बजे बागलुङ-पोखरा सडक खण्डमा गुडिरहेको उक्त गाडी अचानक अनियन्त्रित भई सडकको बायाँतर्फ करिब ५ मिटर तल खसेको थियो। दुर्घटनालगत्तै गाडी सडक छेउबाट तल खसेर कोल्टो परेको अवस्थामा भेटिएको थियो।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजन कुमार पटेलको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। अप्ठ्यारो भौगोलिक अवस्थाका बाबजुद प्रहरी र स्थानीयवासीले तदारुकता देखाउँदै संयुक्त रूपमा उद्धार कार्य थालेका थिए।

टोलीले घाइतेहरूलाई तत्कालै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाउन सहयोग गरेको छ। ‘खबर पाउनासाथ तुरुन्तै टोली परिचालन गरेर उद्धार गर्‍यौँ, गाडी आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको देखिन्छ,’ प्रहरी निरीक्षक पटेलले बताए।

कठिन भूगोलका बाबजुद छोटो समयमै घटनास्थल पुगेर उद्धार कार्य सम्पादन गरेको भन्दै स्थानीयवासीले प्रहरी टोलीको प्रशंसा गरेका छन्। हाल प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाउनुका साथै घटनाबारे थप विवरण संकलन गरिरहेको छ। साथै, प्रहरीले सो सडक खण्डमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन चालकहरूलाई आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: