
रोल्पाको थबाङ गाउँपालिका-५ उवा कोटलबारामा बुधबार राति गएको विनाशकारी पहिरोमा परेर मृत्यु भएका १० जनाको शव फेला परेको छ। कोटलबारा गाउँको सिरानबाट एक्कासि खसेको लेदोसहितको पहिरोले ११ वटा घरगोठ पुर्दा ५ वर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्मले ज्यान गुमाएका हुन्। पहिरोमा परेर ३ जना अझै बेपत्ता रहेकाले उनीहरूको खोजतलास जारी छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार घटनास्थलमै ५ जना र बाढीले बगाएर लगेको अवस्थामा प्युठानका विभिन्न स्थानमा ५ जना गरी कुल १० जनाको शव फेला परेको हो।
घटनास्थलमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको शव भेटिएको छ। त्यस्तै रोल्पाको लुंग्री खोला र प्यूठानको माडी नदी क्षेत्रमा ३८ वर्षीया जुनकुमारी पुन मगर (विष्णु पुन), ५ वर्षीय बालक अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ।
अचानक पहिरो खस्दा भागेर ज्यान जोगाउन सफल भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। घाइतेहरूले नै राति प्रहरीको १०० नम्बरमा फोन गरेर घटनाको जानकारी दिएका थिए।
उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। पहिरोले स्थानीय ९ वटा घर, एउटा घुम्ती पसल, २ वटा गोठ र एउटा चर्च पूर्ण रूपमा पुरेको छ। घटनास्थलमा उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ।
