
पोखरा । गए रातिको अविरल वर्षापछि आएको मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा व्यापक भौतिक क्षति पुर्याएको छ । बाढीका कारण सडक कटान भई बिरेठाँटी-घान्द्रुक सडकखण्डका साथै चिमुङ, स्याउलीबजार र सार्दीखोला जाने सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ, जसका कारण घान्द्रुकको पोखरासँगको सम्पर्क टुट्नुका साथै पर्यटक तथा स्थानीयवासीको आवतजावत प्रभावित भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार बाढीले बिरेठाँटीका विजय गुरुङको कच्ची घर पूर्ण रूपमा बगाएको छ भने माया पाइजाको टहरा जोखिममा परेपछि उनको चार सदस्यीय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यद्यपि, घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
बाढीले सडकका साथै अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ । स्याउलीबजार र वडा नं ७ हवाली जोड्ने फलामे पैदल झोलुङ्गे पुल बाढीले बगाएर क्षतिग्रस्त बनाएको छ भने स्याउलीबजार गेस्टहाउसमा बाढी पस्दा होटलका सामान बगाउनुका साथै घर उच्च जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएका छन् ।
यस्तै, घान्द्रुक जलविद्युत् आयोजनाका कामदार बस्ने कोठा, भान्सा र सामग्रीमा क्षति पुगेको छ भने अन्नपूर्ण-५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिर क्षेत्रमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ । बाढीले मन्दिरतर्फका दुईवटा मेटल पुल र विद्युत्का खम्बाहरू बगाउँदा सडक र विद्युत् सेवा प्रभावित भई स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ ।
क्षतिपछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङसहितको सुरक्षा टोलीले स्थलगत अनुगमन गरेको छ । यसैबीच, मादी गाउँपालिका-१ हुँगीमा मादी नदीको बाढीले निर्माणाधीन अपरमादी जिरो हाइड्रोपावरको एउटा टिपर बगाउनुका साथै निर्माणाधीन संरचनामा समेत क्षति पुर्याएको छ ।
