
पोखरा । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले करिब ६ करोड रुपैयाँको लगानीमा आधुनिक लक्जरी बस सेवा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पोखराको पर्याङमा आयोजित एक विशेष कार्यक्रमका बिच यी अत्याधुनिक बसहरूको शुभारम्भ गरेका हुन् ।
पोखरा महानगरपालिका-२५ हेम्जा मिलन टोलबाट प्रत्येक दिन बिहान ६ बजे छुट्ने गरी तालिका मिलाइएका यी बसहरू आगामी भदौ ३ गतेदेखि यात्रुहरूका लागि नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
नयाँ सञ्चालनमा आउन लागेका बसहरूमा यात्रुको आरामदायी र सहज यात्राका लागि बसभित्रै व्यवस्थित शौचालय (वासरुम), चिया तथा कफी जस्ता विशेष सुविधाहरू समावेश गरिएका छन् ।
प्रतिबस करिब २ करोड रुपैयाँ लागत परेको यो सेवा नेपालकै मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय सवारी साधनमध्ये पर्ने दाबी महासंघका अध्यक्ष सिटौलाले गर्नुभयो। साथै, बसका चालकहरू पाइलट र सहचालकहरू एयर होस्टेसको आकर्षक पोसाकमा सुसज्जित भएर सेवामा खट्ने भएकाले यसले नेपालको यातायात क्षेत्रमा नयाँ र सभ्य संस्कारको सुरुवात गरेको उनको भनाइ थियो ।
कार्यक्रममा अध्यक्ष सिटौलाले अबको यातायात क्षेत्रलाई जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकेटिङमार्फत प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सरकारसँग स्पष्ट कार्यविधि बनाउन माग भइरहेको जानकारी दिए ।
यसका साथै उनले सडक दुर्घटना वा विवादका क्रममा चालक तथा सहचालकमाथि हुने भौतिक आक्रमण र दुव्र्यवहार रोक्न उनीहरूलाई प्रहरी सरह कानुनी सुरक्षा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।
यता कम्पनीका अध्यक्ष टीकाराम अधिकारीले गुणस्तरीय र सुविधायुक्त सेवाको प्रतिबद्धता जनाउँदै पोखराबाट मुक्तिनाथ लगायतका धार्मिक तथा पर्यटकीय स्थलसम्मको यात्रालाई थप प्रवर्धन गर्न यो सेवा कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।




