
रञ्जन अधिकारी पोखरा, २७ मंसिर । पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने एक माध्यम हो प्याराग्लाईडिङ । विश्व स्तरीय प्याराग्लाईडिङ च्याम्पियनशीप समेत हुँदै आएको पोखरा यही माध्यमबाट साहसिक खेलकुदको गन्तव्यको रुपमा चिनिएको छ । तर, आईतबारदेखि पोखराको आकाशमा प्याराग्लाईडिङ उड्न बन्द भयो । नागरिक उड्डयन प्राधिकरण(क्यान) ले पोखरामा पाईलटहरुले समयमा उडान अनुमति शुल्क नबुझाएको भन्दै पोखराको आकाशमा प्याराग्लाईडिङ उडान बन्द गरिदिएको हो ।
प्याराग्लाईडिङ उडानका लागि आईतबारसराङकोट पुगेका एक सय भन्दा बढि प्यारापाईलटहरुलाई क्यानका पदाधिकारीहरुले उडान अनुमति शुल्क नतिरेको कारण देखाउँदै फर्काईदिएका थिए । एउटा प्यारापाईलटले मासिक रुपमा उडान अनुमति शुल्क स्वरुप क्यानलाई प्रतिमहिना ९ हजार ४० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । क्यान पोखरा कार्यालयका अनुसार शुल्क बुझाउने पाईलटहरुलाई नरोकिएको तर शुल्क नबुझाउनेलाई रोकेको हो । नियमानुसार नै अघि बढेको क्यानले प्रष्ट पारेको छ । शुल्क बुझाएको खण्डमा अहिले फर्काईएका प्यारापाईलटहरुले पनि उडान भर्न पाउने कार्यालयले जनाएको छ ।
प्याराग्लाईडिङ व्यवसायी र प्यारापाईलटहरुले भने क्यानले हरेक पटक उडान गर्दा लिने पटके अनुमति शुल्कको खारेजीको माग गर्दै समस्याको हल नभएसम्म सम्पूर्ण उडान बन्द गर्ने निर्णय गरेको छ । प्याराग्लाईडिङ पाईलट र कम्पनीहरुले उडान शुल्क पनि अति नै महँगो भएकोले त्यसलाई कम गराउनुपर्ने माग अगाडि सारेका छन् । ‘नेपाली पाईलटलाई पनि विदेशी पाईलटकै लेभलमा शुल्क लिनु हुँदैन र वार्षिक रुपमा उडान अनुमति शुल्क तिर्नुपर्ने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ नेपाल हवाई खेलकुद संस्था (ना), पोखराका उपाध्यक्ष सोवित बानियाँले बिग एफएमसँग भने– ‘हामीमा के कस्तो समस्या छ भन्ने कुराको अनुगमनको लागि क्यान कहिल्यै अगाडि सर्दैन । तर पैसा उठाउने कुरामा उसले हामीलाई सँधै पेल्ने गरेको छ ।’ ….. Voice Play
क्यानले पैसा लिने कुरामा कडाई गर्ने भएपनि नियमनको हिसाबले कुनै वास्ता नगरेको उनको भनाई छ । नाले क्यानसँग पटक पटक शुल्क समायोजनको विषयमा कुरा उठाउँदै आएपनि वास्ता नगरेको बानियाँले जिकिर गरे । नेपाली लाईसेन्स भएकाहरुलाई पनि विदेशी सरह नै शुल्क लिने गरेकोले यो न्यायसंगत नभएको उनको जिकिर छ ।
यस्तै, प्याराग्लाईडिङ उडानका लागि समस्या भैरहँदा पनि क्यानले सोर्सफोर्सका आधारमा अझै नयाँ कम्पनी थपिरहेको पनि उनले आरोप लगाए । ‘तोरीपानीबाट उडान गर्ने ४० कम्पनी स्थापना भैसकेका छन् । तर अवतरण स्थल छैन उनीहरुको । यस्तो समस्याप्रति क्यान किन उदासिन देखिन्छ त ?’ उनको प्रश्न थियो । (ना)ले आईतबार फर्काईएका सम्पूर्ण प्यारापाईलटहरुले कात्तिकसम्मको उडान अनुमति शुल्क तिरिसकेको बताएको छ । ‘हामी क्यानलाई शुल्क तिर्छौँ तर यसमा समायोजन हुनुप¥यो ।’ बानियाँले भने–‘होईन भने यहि कुराले पोखराको पर्यटनमा पनि ठुलो धक्का लाग्न सक्छ ।’ पोखराको आकाशमा प्याराग्लाईडिङ उडाउने नेपाली पाईलटहरु १ सय ७ जना छन् । विदेशी पाईलटहरु करीब ५० जना छन् ।
यसैबीच, नाले आईतबार नै एक प्रेस विज्ञप्ती प्रकाशित गरी नेपाल नागरीक उड्डएन कार्यालय पोखराले उडान शुल्कः नतिरेको नाममा अनुमति प्राप्त पाईलटहरुलाई सराङकोट क्षेत्रमा उडान भर्न नदिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
पोखराको पर्यटनको मुख्य आकर्षणको केन्द्र बन्दै आएको साहासिक खेल प्याराग्लाइडीङ एकाएक अबरुद्ध हँुदा यस क्षेत्रमा प्याराग्लाईडीङ गर्न आएका पाहुनाहरुलाई प्याराग्लाईडीङ गराउन नपाउदा यसले पोखरा क्षेत्रकै सिंगो पर्यटन उद्योगलाई असर पर्ने गएको उनीहरुको ठम्याई छ ।
नाका अध्यक्ष योगेशबहादुर भट्टराई र महासचिव बसन्तराज दवाडीले एक विज्ञप्ती जारी गर्दै अनुमति पत्र वाहक प्याराग्लाइपाईलटहरुको पटके अनुमति शुल्कः खारेज नभएसम्म कुनै पनि उडान नगर्ने निर्णय गरेको प्रष्ट पारेका छन् ।
‘भूकम्प पछि लगतै भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीले थलिएको पर्यटन क्षेत्रमा यसरी नेपाल नागरीक उड्डएन कार्यालय पोखराले प्याराग्लाईडीङ उडान अबरुद्ध गर्नु समग्र पर्यटन क्षेत्रमा नकरात्मक असर पर्ने हाम्रो ठहर रहेको छ ।’ विज्ञप्तीमा उल्लेख छ । ‘यसरी पर्यटन प्रवद्र्धन गर्न पोखरा आएका स्वदेशी तथा विदेशी पाहुनाहरुलाई प्याराग्लाईडीङ नै नगराईकन फर्काउनु परेकोमा हामी निकै दुखि भएका छौं ।’
Pic. Source: Google
