पोउवा संघको महाधिवेशनः खुला सदस्यका उम्मेदवार मनोहरी पौडेललाई विजयी गराउन बुद्ध विशाल बजार एशोसियसनको आह्वान

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार मनोहरी पौडेललाई विजयी गराउन बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले संस्थागत रूपमा आह्वान गरेको छ।

एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवर र महासचिव थमन सिंह गुरुङद्वारा जारी अपिलमा पौडेलको उम्मेदवारीले व्यवसायीको हक, हित र आवाजलाई संघभित्र मजबुत बनाउने विश्वास व्यक्त गर्दै आफ्ना सदस्यहरू, सम्पूर्ण उद्योगी-व्यवसायी तथा वस्तुगत समितिहरूलाई अत्यधिक मतका साथ मतदान गर्न आग्रह गरिएको छ।

लामो समयदेखि व्यापार, पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय पौडेल बुद्ध विशाल बजारस्थित टुईन्स कलेक्सनका सञ्चालक हुन्। यसअघि पोखरा उद्योग वाणिज्य संघको आर्थिक वर्ष २०८२/८३ मा मनोनीत कार्यसमिति सदस्य रहँदा पौडेलले २८ मध्ये २७ वटा (९६.४३ प्रतिशत) बोर्ड बैठकमा उपस्थित भई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरिसकेका छन्।

व्यवसायीका समस्या नजिकबाट बुझेका सरल र सहयोगी पौडेलले संघलाई थप सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी दिएको बताएका छन्। उनले व्यवसायीका मुद्दा उठाउन र समाधान गर्न प्रतिबद्ध रहेको जनाउँदै सबैको सहयोगको अपेक्षा गरेका छन्।

पौडेल हाल बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका उपाध्यक्ष, त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका अध्यक्ष, सुकमैदान सिर्जनशील क्लबका संस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य लगायतका विभिन्न सामाजिक, व्यावसायिक र सहकारी संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कार्यरत छन्।

व्यवसाय, समाजसेवा र सञ्चार क्षेत्रको अनुभवलाई संघमार्फत व्यवसायीकै हितमा उपयोग गर्ने जनाएका पौडेलको महाधिवेशनमा खुला सदस्य पदको क्रम संख्या ९ रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: