विश्व पर्यटन दिवसमा पोखरामा भुटानको क्रिकेट टोली, चार अभ्यास खेल खेल्ने

Share:

पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउने भएको छ। आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने आईसीसी मेन्स टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीस्वरूप भुटानी टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चारवटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा हुने अभ्यास खेलमा भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र क्यान-११ सँग प्रतिस्पर्धा गर्नेछ। गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार भुटानले प्रतियोगिताको तयारीका लागि पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो।

पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि र पर्यटनको सम्भावनालाई समेत ध्यानमा राख्दै भुटानी टोलीले यहाँ अभ्यास खेल खेल्न लागेको हो।तालिकाअनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग तथा असोज १४ र १५ गते क्यान-११ सँग अभ्यास खेल खेल्नेछ। सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन्।

विशेषगरी सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसका दिन भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

खेल हेर्न आउने दर्शक तथा भुटानी टोलीको पोखरा भ्रमणले खेल पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। अध्यक्ष सिग्देलले पोखराको क्रिकेट पूर्वाधार र पर्यटनबीचको सम्बन्धलाई थप बलियो बनाउन भुटानी टोलीको भ्रमण महत्वपूर्ण हुने बताए।

“पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ,” उनले भने ।

गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध विस्तारसँगै पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

“भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय-अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ,” उनले भने , “यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि नियमित रूपमा आयोजना गर्ने वातावरण निर्माण हुनेछ।”

गण्डकी प्रदेश क्रिकेट संघले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। भुटानी राष्ट्रिय टोलीको आगमनलाई उक्त लक्ष्यतर्फको महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।

विश्व पर्यटन दिवसमा क्रिकेटको अन्तर्राष्ट्रिय स्वाद

विश्व पर्यटन दिवसकै अवसरमा पोखरामा हुन लागेको भुटान र गण्डकीबीचको खेलले खेल र पर्यटनलाई एउटै मैदानमा जोड्नेछ। हिमाल, ताल र पर्यटनका लागि परिचित पोखरामा अन्तर्राष्ट्रिय टोलीको क्रिकेट गतिविधिले खेल पर्यटनको नयाँ सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।

यससँगै भुटानको राष्ट्रिय टोलीको चारदिने अभ्यास खेलले पोखरामा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै भविष्यमा थप अन्तर्राष्ट्रिय टोली तथा प्रतियोगिता भित्र्याउन आधार तयार गर्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: