‘पृथ्वीनारायण क्याम्पसले स्वयं विश्वविद्यालय हुने हैसियत राख्छ’–भट्टराई

Share:

रञ्जन अधिकारी पोखरा, १ पुस / मुलुककै प्रतिष्ठित, धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पस एक विश्वविद्यालय नै बन्नसक्ने र बन्नुपर्ने चर्चा भएको धेरै भयो । आम पश्चिमाञ्चलबासी विश्वविद्यालय बनाउनुपर्ने पक्षमा छन् । यद्यपी, क्याम्पसमा आवश्यक दरबन्दी समेत नभएको र आन्तरिक श्रोतले केहि विभाग धानिरहेको क्याम्पस प्रमुख नै गुनासो गर्छन् ।

एमाले सचिव योगेश भट्टराईले पनि गरिमामय इतिहास बोकेको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय हुनुपर्नेमा आफु समर्थन रहेको बताएका छन् । अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस एकाई कमिटिले आयोजना गरेको ‘वर्तमान स्थितिमा विद्यार्थीहरुको भुमिका विषयक’ विचार गोष्ठीको प्रमुख वक्ता रहेका भट्टराईले पृथ्वीनारायण क्याम्पस नै एक युनिभर्सिटि हुनुपर्ने कुरामा आफु सकारात्मक रहेको बताए । ‘पृथ्वीनारायण क्याम्पस आफैंमा विश्वविद्यालय हुने हैसियत राख्दछ तर विद्यार्थी संख्या र जग्गा जमिनको आधारले मात्र हुँदैन ।’ उनले भने– ‘नेपालको आजको परिस्थितिमा यसले बौद्धिक र प्राज्ञिक हैसियत प्राप्त राखेको छ कि छैन ? यो मुख्य कुरा हो । विश्वविद्यालय हुने ल्याकत राख्ने महत्वपूर्ण शैक्षिक प्रतिष्ठानले त्यो हैसियत कायम गर्न सकोस् ।’

उनले दशकौं समय गौरवपूर्ण ईतिहास बोकेको पृथ्वीनारायण क्याम्पसमा अहिले गुटगत प्रवृत्ति मौलाएको गुनासो गर्दै यसमा आफुलगायत केन्द्रिय तहका नेताहरु नै दोषी रहेको स्वीकार गरे । ‘पहिले मण्डलेहरुसँग मारामार हुन्थ्यो । अहिले प्रतिष्पर्धी कोहि नभेटेर होला आफैमा कुटाकुट गर्छन रे । यो बडो दुःखको कुरा हो ।’ भट्टराईले भने – ‘हामी स्वयं कुलपति, डिनहरुले विद्यार्थीलाई अनुशासनमा राख्न सकेनौं । मास्टर अयोग्य भयो भने पनि विद्यार्थी खराब हुन्छन् । सायद हाम्रो राजनीतिमा मास्टरहरु अयोग्य भए होला्न् ।’

भट्टराईले विद्यार्थीहरु घोकन्ते शिक्षामा मात्र नभई व्यवहारिक एवं वैचारिक रुपमा अगाडि आउनुपर्ने जिकिर गरे । उनले पृथ्वीनारायण शाहलाई स्मरण गर्दै उनको योगदानलाई सम्झेर विद्यार्थीहरुले आफ्नो क्षेत्रबाट मुलुकको विषम परिस्थिति हल गर्नतर्फ लाग्न पनि सुझाव दिए । उनले ईतिहासको कुनै पानामा मधेश पहाडबाट अलग्गै राज्यका रुपमा नरहेको र सदियौंदेखि हिमाली, पहाडी, तराईबासी मिलेर ब्रिटिश साम्राज्यवाद र तिब्बतीहरुसँग लडेको बताए ।

एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले मधेशी मोर्चाको मागमध्ये ११ औं बुदा साह्रै खतरनाक भएको बताए । ‘अंगीकृत नागरिकताका सवालसँगै ११ औं बुँदाको मागमा नेपाल बहुराष्ट्रिय राज्य हुनुपर्ने कुरा छ । यो साह्रै खतरनाक कुरा हो ।’ उनले भने–  नेपाल अनेक राष्ट्र मिलेर बनेको राज्य हो भन्ने उनीहरुको परिभाषा छ तर नेपाल कहिल्यै पनि दुईटा राष्ट्र थिएन । एकल राष्ट्र हो ।  एउटै नेपाली राष्ट्रियता हो ।’

भट्टराईले भारतको आर्शिवादमा संविधान नबनेपछि नेपाललाई विनाकारण दुःख दिएको भन्दै पहिले आफु सुध्रन पनि सुझाव दिए । अंगीकृत नागरिकता भएकै कारण सोनिया गान्धीलाई रोक्ने भाजपा अहिले नेपालमा यो कुरामा दबाब दिन नमिल्ने भन्दै आफुलाई एउटै राज्य कायम राखिराख्न नसक्ने भारतले हामीबाट पाठ सिक्न समेत उनले आग्रह गरे ।

उनले अहिले जाजातिका नाममा बेतुकको बहस चलेको पनि बताए। ‘यहाँ आदिवासी जनजाति को हो, को होईन ? भन्ने बेतुकको बहस चलेको छ । पोखरामा अब यो बेतुकको बहस टुंगाउँ, पोखराको विमानस्थलका बारेमा बहस गरौं, एक वर्षमा २० लाख पर्यटक भित्राउने बहस सुरु गर्नुपर्छ ।’ उनले भने ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्र लामिछानेले क्याम्पसमा आवश्यक दरबन्दी नभएको बारे त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराए । पृथ्वीनारायण क्याम्पस त्रिवि स्थापना भएको एक वर्षपछि स्थापित रहेर सँगसँगै विकास भएको उनको भनाई छ । ‘हामीसँग ५ ओटा फ्याकल्टिजहरु छन्, जसमा एक अध्ययन संस्थान संलग्न छन् । २९ विभागहरु र करीब १८ विषयमा मास्र्टस डिग्री पढाई हुन्छ ।’ उनले भने– ‘तर, ब्याचलरका अधिकांश बाहेक मास्टर्सका १८ विषयमध्ये दुई विषयमध्ये त्रिविले दुई विषयलाई मात्र अनुमति दिएको छ । बाँकी नीजि श्रोतबाट संचालन गरेका छौं । भार विद्यार्थीलाई परेको छ ।’

अनेरास्ववियूका केन्द्रिय उपाध्यक्ष दीपक गौतमले सबैभन्दा ठुलो विद्यार्थी संगठन अनेरास्ववियू भएको र यसको आवाज र आन्दोलनले मुलुक परिवर्तनमा सघाउ पुगेको दाबी गर्दै अनेरास्ववियू एक भएर अघि जानुको विकल्प नभएको बताए । गौतमले माघ २७ देखि २९ सम्म हुने २२ औं महाधिवेशनले काम नगर्नेहरु विस्थापित गर्ने र विधि प्रक्रियामा चल्नेहरु नेतृत्वमा पुग्ने बताए । उनले उत्पीडित मधेशी जनताको जायज माग पुरा गर्न आन्दोलनको अग्रमोर्चामा अनेरास्ववियू उत्रने तर नाजायज माग कुनै हालतमा पुरा नगर्न सरकारलाई खबरदारी समेत गरे । कार्यक्रमको अध्यक्षता समेत गरेका एकाई अध्यक्ष राजनशर्मा पराजुलीले सबै साथीहरु एक भएर जान आफु तयार रहेको बताए ।

सो अवसरमा अनुशासन आयोगका अध्यक्ष जीवन राई, नेकपा एमाले कास्कीका सदस्य इमानराज पौडेल, अनेरास्ववियू केन्द्रिय सदस्य जुन तामाङ, गण्डकी अञ्चल ईञ्चार्ज हिरेन्द्र शाही, अञ्चल सचिव भरतमान कोने तमु, सहसचिव अशोक पौडेल, एकाई सदस्य कुञ्जनी परियार, सन्तोष न्यौपाने लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: