
पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ स्थित न्यूरोड क्षेत्रबाट अवैध लागू औषध ब्राउनसुगर (खैरो हिरोइन) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले असोज ८ गते साँझ करिब ७:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा तनहुँ व्यास नगरपालिका-५ घर भई हाल पोखरा-८ न्यूरोड बस्ने २६ वर्षीय राजु न्यौपाने र पोखरा-१८ सराङकोटका ३१ वर्षीय नारायण थापा रहेका छन्।
प्रहरीले न्यौपानेको साथबाट ५.१७ ग्राम ब्राउनसुगर र एक थान मोबाइल तथा थापाको साथबाट ४.१५ ग्राम ब्राउनसुगर र दुई थान मोबाइल गरी कुल ९.३२ ग्राम (प्लाष्टिकबाहेक) ब्राउनसुगर र ३ थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी कसूरमा आठ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
