
पोखरा, १२ पुस-
छैठौँ सँस्करणको विग आईकन अन्तरगत दोश्रो चरणको अडिसनबाट ७९ जना अघिल्लो चरणमा प्रवेश गरेका छन् । शनिबार ४४ जना र आइतबार ३५ जना प्रतियोगीहरुले पँहेलो कार्ड प्राप्त गर्दै तेश्रो चरणमा स्थान सुरक्षित गरेका आयोजक संस्था विग एफएमका अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।
अब तेश्रो चरणको अडिसन आगामी मङ्गलबार न्यूरोडस्थित स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा हुने भण्डारीले बताए ।
पहिलो चरणबाट दोश्रो चरणमा प्रवेश गरेका १ सय १२ जनामध्ये शनिबार ५८ जना र आइतबार ५४ जनाले अडिसन दिएका थिए । यसपटकको विग आइकनका लागि ४२ जिल्लाका ९ सय ३ जनाले फाराम भरेका थिए ।
यो पटक विग आईकनको दोस्रो चरणको अडिसनसम्म आईपुग्दा नै प्रतियोगिता निकै कडा बन्दै गएको निर्णायकहरुले बताएका छन् । श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोद बानिया, कर्णदास र विवेक श्रेष्ठ यो पटक निर्णायकको रुपमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
