अपहरण गरी शरीर बन्धक बनाउने दुई घटनाका चार अपहरणकारी पक्राउ

Share:

चितवन, १३ पुस-
अपहरण गरी शरीर बन्धक बनाएका दुई बेग्लाबेग्लै घटनाका चार अभियुक्तलाई पक्राउ गरिएको छ भने दुईजना फरार छन् ।
जिप्रका चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार भरतपुर उपमहानगरपालिका–२० का धनञ्जय पौडेललाई भरतपुर ओरालोस्थित एक घरमा थुनिराखेको अवस्थामा तीनजनालाई नियन्त्रणमा लिइएको हो । भरतपुर उपमहानगरपालिका–४ की ४२ वर्षीया रमा पौडेल, वडा नं १० का ३५ वर्षीय ध्रुव खड्का र वडा नं ८ का ३६ वर्षीय कृष्ण लामालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
उनीहरुद्वारा बन्धक बनाइएका पौडेललाई मुक्त गरिएको छ । आर्थिक लेनदेनका कारण अपहरण गरी बन्धक बनाइएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । पुस ११ गते दिउँसो ४ बजे भएको घटनाको अनुसन्धान जारी रहेको छ ।
त्यसैगरी, ना ५ ख ७५८६ नम्बरको ट्रकमा कपिलवस्तु चन्द्रौटाबाट गोरु लादेर सर्लाही जाँदै गरेको ट्रकलाई पूर्वी चितवनका राप्ती नगरपालिका–७ पम्फा खोलामा रोकेर रकम माग गर्ने एकजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका–४ बस्ने २६ वर्षीय विमल थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनामा संलग्न अरू दुईजना फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरुलाई राजमार्गबाट ६ किलोमिटर पर चौकीडाँडाको जङ्गलमा नगद तथा धनमाल खोसी चालक तथा सहचालकलाई बन्धक बनाई राखिएको अवस्थामा पक्राउ गरिएको हो । पुस ९ गते दिउँसो १ बजे भएको उक्त घटनाको अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: