पोखरामा भैरव नृत्य सुरु, नयाँ पुस्ता जागेपछि सय बर्ष ढुक्क !

Share:

रञ्जन अधिकारी पोखरा, ७ माघ / ‘बाह्र भैरव नृत्य १२ वर्षमा प्रदर्शन गरिने हो तर लोप हुने धेरै सम्भावना भएर छ वर्षमा देखाउँदै आएका छौं– ‘भैरव सांस्कृतिक संरक्षण समितिका कानुनी सल्लाहकार अधिवक्ता केदारप्रसाद मर्सानीले भने– ‘संस्कृति जगेर्ना धेरै नै चिन्ताको विषय थियो तर नयाँ पिढीले देखाएको चासोले अबको एक सय वर्षसम्म ढुक्क छौं ।’

पोखरामा विहीबारदेखि सुरु भएको भैरव नृत्य प्रदर्शनी अघि पिकम् पुजाका लागि सामाग्री संकलन भईरहँदा मर्सानीले नयाँ पुस्ता आफ्नो संस्कृति जोगाउन जागेकाले अब कम्तिमा एक सय वर्ष ढुक्क हुने अवस्था आएको भन्दै खुशी व्यक्त गरे । १२ वर्षमा निकालिँदै आएको भैरव नाच २०२९ सालदेखि पोखरामा छ वर्षको अन्तरालमा प्रदर्शन गरिदैँ आएको हो ।

मर्सानीका अनुसार यसअघि २०६७ सालदेखि नै नाच्ने बजाउने लगायतका कार्यमा किशोर तथा युवाहरुलाई नै अघि सारिएको छ । आधुनिक जमानामा युवाहरु आफ्नो संस्कृतिबाट भाग्दै गरेको अवस्थामा नेवार समुदाय भित्र भने अग्रसरता लिनुलाई उनी सन्तोष व्यक्त गर्छन् । आठ वर्षदेखि ३५ वर्ष उमेर समुहका दुई सय बढिले नृत्य प्रशिक्षण लिएको, बाद्यवादन तथा राग सिक्न पनि उत्तिकै युवाहरुको सक्रियता देखिएको उनले जनाए । नाच प्रदर्शनका लागि मङ्सिर १७ गतेदेखि एक महिनासम्म अभ्यास गरिएको थियो।

धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने भैरव नृत्य पहिलो दिन भीमसेनटोल स्थित भीमसेन मन्दिरमा प्रदर्शन भएको छ। शुक्रबार गणेशटोलको गणेश मन्दिर, माघ ९ गते सरस्वती मन्दिर, १० गते विन्ध्यवासिनी मन्दिर, ११ गते भैरवटोल स्थित सिद्धिविनायक गणेश मन्दिर र १२ गते नृत्य गुरु कृष्णबहादुर वैद्यको घरमा प्रदर्शन हुने प्रचारप्रसार संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिए। भैरव सांस्कृतिक संरक्षण समितिका मूल गुरु तथा प्रमुख सल्लाहकार सर्वज्ञमान प्रधानाङ्गको निधनपछि वैद्यले जिम्मेवारी सम्हालेका हुन् ।

गुरुको निवासमा प्रदर्शनपछि सर्वसाधारणको घरघरमा पुगेर प्रदर्शन सुरु हुने र यो क्रम चैत मसान्तसम्म चल्नेछ । नृत्य प्रदर्शन गरेवापत समितिले व्यक्तिगत २० हजार र सामूहिक भए ३५ हजार रुपैयाँ दक्षिणास्वरुप लिने प्रधानाङ्गले बताए।

नृत्य व्यवस्थापन समितिका मुल संयोजक एवं समिति उपाध्यक्ष तीर्थमान प्रधानाङ्गले भैरव मन्दिर प्राङ्गणमा रहेको दुई सय वर्ष जति पुरानो ऐतिहासिक कटहरको रुख परिसरमा पहिलो दिन पोखराका नेवार समुदायबाट आवश्यक सामाग्री संकलन गरी पिकम् पुजा सम्पन्न पश्चात नृत्य सुरु हुने बताए । नृत्य प्रदर्शनीका लागि प्रधानाङ्गकै संयोजकत्वमा विभिन्न १५ उपसमिति गठन गरिएको हो । यो पटकको नृत्यमा १२ लाखभन्दा बढी खर्च हुने अनुमान आयोजकको छ।

१२ भैरव नाचको पहिलो दिन भिमसेन मन्दिरमा पुगी नृत्यदेवलाई सामुहिक पुजाआजा गरी प्रसाद ग्रहणपछि बेलुकीदेखि नृत्य सुरु हुने रमेश भारीले जानकारी दिए । पोखराको भैरव नृत्यमा जम्मा १२ नृत्यकार विभिन्न भैरव (४ भैरव), देवी (४ देवी), एक गणेश, भुच्चा, कवङ र डागिनी (पार्वतीको रुप) मा मुकुट राखी समूह–समूहमा पटक–पटक गरी निस्केर नृत्य गर्दछन्। तर नृत्यको सुरु र अन्त्यमा सबै कलाकार आआफ्ना मुकुण्डो र भेषभुषमा गोलो गरी बसेर पूजा थाप्दछन्। यो नृत्यको सुरुमा र अन्त्यमा पूजा हुन्छ। भैरव नृत्यपछि डर, त्रासको अन्त्य हुने र दुःख, कष्टसमेत निवारण हुने जनविश्वास छ। नेपाल सरकारले भैरव नृत्यको सम्मानमा २०५७ सालमा नृत्यअंकित हुलाक टिकट नै प्रकाशन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: