
रञ्जन अधिकारी पोखरा, ८ माघ / पोखराको मैदानमा सर्वाधिक सफल टोली नेपाल पुलिस क्लब १४ औं आहारारा गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा शुक्रबार भएको चौथो तथा अन्तिम प्रिक्वार्टरफाईनल खेलमा पुलिस रमपम झापा–११ सँग २–० गोल अन्तरले पराजित भएको हो । प्रतियोगितामा सहभागी नेपालका तीन विभागीय टीममध्ये त्रिभुवन आर्मीले अघिल्लो चरण प्रवेश पाउँदा पुलिस र एपीएफ भने पहिलो खेलबाटै पोखरा छाडेको छ ।
पुलिस विरुद्ध शानदार जीत हात पार्ने क्रममा झापा ११ का कर्ण लिम्बु र बुद्धराज लिम्बु (चेमजोङ) ले गोल गरे । पाँच खेलाडीलाई रक्षा पंक्तिमा उभ्याएर पु्लिसको सामना गर्न उत्रिएको झापा ११ ले चौथो मिनेटमै पेनाल्टी अवसर पायो र खेलमा हावी भयो । तेस्रो मिनेटमा पुलिसका गोलकिपर विशाल श्रेष्ठले झापाका बुद्ध चेमजोङलाई लडाएपछि रेफ्री सुदिश पाण्डेले विशाललाई पहेंलो कार्ड देखाए र झापालाई पेनाल्टी दिए । त्यो मौकालाई कर्णले खेर फालेनन् । खेलको ३६ औं मिनेटमा बुद्धले उत्कृष्ट गोल गरे । बुद्ध खेलमा म्यान अफ द म्याच पनि बने ।
पहिलो हाफमै दुई गोलले पछि परेको पुलिस दोस्रो हाफमा खेलमा फर्कन सकेन । खेल झनै खस्कियो । यद्यपी, गोल गर्ने अवसर भने झापा भन्दा पुलिसले सिर्जना गरेको थियो । पुलिसका विशाल श्रेष्ठसँगै रेजिन सुब्बाले एल्लो कार्ड व्यहोरे । झापा ११ को यो दोस्रो सहभागिता हो । २०५८ मा पहिलो संस्करणमा सहभागी झापा ११ ले पहिलो खेलमै थ्रीस्टारलाई १–० ले हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको थियो र पुलिससँग भने त्यसबेला ३–१ ले पराजित भएको थियो ।
पुलिस क्याराभान सहित आहारारा गोल्डकमा सबैभन्दा धेरै पटक उपाधि जित्ने टीम हो । उसले पाँच चोटी उपाधि उचाल्दा तीन पटक उपविजेतामा चित्त बुझाएको छ । दोस्रो सफल टीम मनाङ तीन पटकको विजेता र चार पल्टको उपविजेता हो । २०६३ को पाँचौ संस्करणमा पुलिसको सहभागिता थिएन । गत संस्करणमा थ्रीस्टारसँग सेमिफाईनलमा १–० गोलले पराजित पुलिस १२ औं संस्करणमा भने सेमिफाईनलमै मनाङसँग १–० गोलले पराजित भएको थियो । १० औं र ११ औं मा पनि पुलिस पहिलो खेलमै बाहिरिएको थियो । दुवै पटक बाई पाएर पुलिसले सिधै क्वार्टरफाईनल खेल्ने मौका पाएको थियो ।
यो खेलसँगै प्रिक्वार्टर फाईनलका खेलहरु सम्पन्न भएका छन् । क्वार्टरफाईनल खेल्ने अन्तिम आठ टीम पक्का भएको छ । यो पटक भारतको सिक्किम युनाईटेड, रुस्लान थ्रीस्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश सिधै बाई पाएर क्वार्टरफाईनलमा स्थान सुरक्षित गरेका थिए । यसअघि, उद्घाटन खेलमा आयोजक सहाराले सिमराको नवजनजागृतिलाई ३–० गोल, पाहुना टोली ईण्डियन आर्मी गोर्खा ब्रिगेडले सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल र नेपाल आर्मीले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै क्वार्टरफाईनल पुगिसकेको छ । शुक्रबारको विजेता झापा ११ ले अब सेमिफाईनल प्रवेशका लागि माघ १२ गते रहमदगञ्ज बंगलादेशको सामना गर्नेछ ।
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नयाँ खेलाडीहरुसँग अभ्यासको कमी भएको बताउँदै सुरुमै गोल खानु नै दुर्भाग्य भएको उल्लेख गरे । उनले आफ्नो टीमबाट धेरै अवसर पाएपनि सदुपयोग गर्न नसकेको बताए । पुलिसका सुमन लामा र रविन श्रेष्ठ ढाकामा छन् भने प्रशिक्षक श्रेष्ठले जुमनु राईलाई बाहिरै राखेर नयाँ खेलाडीहरुलाई अवसर दिएको बताए ।
झापा ११ का प्रशिक्षक भगिरथ आले (मामा) ले पुलिसको प्राविधिक पक्ष राम्रो भएपनि फिनिसिङ नभएको बताए । लिगमा दुवै खेल जितेको स्मरण गर्दै उनले त्यो बेला भन्दा अहिले राम्रो भएको बताए । आगामी बंगलादेशसँगको खेलमा विशाल राई ए थपिने भन्दै उनले जित्ने गरेरै मैदान उत्रने बताए । हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुनेछ ।
