
पोखरा ११ माघ-
कास्की जिल्ला फुटबल संघले पोखरेली पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनलाई स्वागत एवं सम्मान गरेको छ । कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमबहादुर लामिछाने लगायतले उनलाई खादा लगाई सम्मान गरेको हो । गौचनकै अगुवाईमा मार्च २६ मा जापानमा हुने प्रतिस्पर्धाको लागि पोखराबाट १२ वर्ष मुनिका खेलाडीहरु लैजाने छन ।
छनोट भएको प्रशिक्षार्थीलाई जापानको फुटबल एकेडेमी प्रशिक्षक गौचनले लैजाने छन । खेलाडी लैजाने विषयमा सोमबार संघको सभाहलमा अभिभावकसँग छलफल समेत गरिएको थियो । सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले संघको कार्यले गर्दा पोखरालाई फुटबलको शहर रुपमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । संघका प्रशिक्षक राजेन्द्र तामाङले प्रशिक्षार्थी तथा अभिभावकहरुलाई फुटबलको नियमबारे प्रकाश पारेका थिए ।
