
माघ २२ गते-
वीरगन्ज, माघ २२ । लामो समयदेखि अवरुद्ध वीरगन्ज–रक्सौल भन्सार नाका शुक्रबार दिउँसोदेखि पुनः सन्चालन भएको छ ।
मधेस केन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि यहाँबाट हुने आयात्–निर्यात् पूर्णरुपमा ठप्प भएको थियो ।
स्थानीय व्यापारीले मितेरी पुलमा रहेको पाल र ढाट हटाएपछि नाका सन्चालन भएको हो ।
अहिले नाकाबाट साना सवारी–साधन, मालबाहक ट्रक, कन्टेनरलगायत सबै सवारी–साधन निर्वाधरुपमा सन्चालन भइरहेका छन् भने नाकामा एक्कासि चहलपहल बढेको छ ।
नाका भएर शुक्रबार साँझ ४ बजेसम्म ५० भन्दा बढी मालबाहक ट्रक नेपाल भित्रिएका तथा केही ट्रक सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गएका पर्साका सहायक प्रजिअ अनुज भण्डारीले बताए ।
नेपाल भित्रिएका मालबाहक ट्रकमा यान्त्रिक औजारलगायत मालसमान रहेको बताइएको छ ।
