
पोखरा,२ फागुन ।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेबु्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्ने गर्छन् ।
भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् । यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ ।
विग एफएमले ‘प्रेमगीत बेस्ट भ्यालेन्टाईन कपल’ छान्ने
विग एफएमले मायालु जोडीहरुलाई लक्षित गर्दै शुरु गरेको ‘बेस्ट भ्यालेन्टाईन कपल’ रेडियो गेम शो अन्तरगत आज उत्कृष्ट एक जोडी छनौट हुदैछन् । प्रणय दिवसको छेको पारेर हरेक वर्ष गर्दै आएको यो रेडियो कार्यक्रम यो वर्ष फ्रबु्रअरी २ देखि शुरु भएको हो ।
यो ईभेन्टका लागि हिजोसम्म १० जोडी छनौट भैसकेका छन् । पहिलो दिन सरोज थापा–शशि गुरुङ, दोस्रो दिन आशिष–सुमिना श्रेष्ठ, तेस्रो दिन ईच्छा कोईराला–सुशिल पहारी, चौथो दिन सुनील पुन–कल्पना मगर, पाँचौ दिन लल्लु लुङ्गेली मगर–मुना, छैटौं दिन शर्मिला राना–सुदिप गुरुङ्ग, सातौं दिन दिपा गुरुङ्ग–अभिसेक गुरुङ्ग, आठौं दिन सागर–सरु गुरुङ्ग, नवौं दिन मिना–समिर र हिजो दशौं दिन शर्मिला–सुमन गुरुङ्ग छनौट भएको एफएमले जनाएको छ ।
यो रेडियो गेम शोम दर्ता भएका जोडिहरु मध्ये एफएमले लक्की ड्र गरेर १० दिनसम्म हरेक दिन साँझ ८ बजे ‘एक उत्कृष्ट मायालु जोडि’लाई छनौट गरिएको हो । र, प्रणय दिवसको दिन आज उत्कृष्ट १० मायालु जोडिमध्येबाट ‘प्रेमगीत बेस्ट भ्यालेन्टाईन कपल’ छनौट हुनेछन् ।
युवा ज्योतिष हरिहर अधिकारीले सर्वोत्कृष्ट जोडि छान्ने एफएमले जनाएको छ । उनले उत्कृष्ट जोडिहरुमध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडिलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद २० हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ ।
यो पटकको ‘बेस्ट भ्यालेन्टाईन कपल’ रेडियो गेम शो लाई नेपाली फिल्म ‘प्रेमगीत’ले व्यवसायिक साथ दिएको छ । प्रणय दिवस अर्थात भ्यालेन्टाईन डे लाई लक्षित गर्दै प्रदर्शन मिति तोकेको लभस्टोरी फिल्मले बेस्ट भ्यालेन्टाईन जोडिका लागि भन्दै विग एफएमसँग व्यवसायिक सहकार्य गरेको हो । प्रेमगीत माघको २९ गतेदेखि अलनेपाल रिलिज भएको छ ।
‘प्रणय दिवसलाई नै लक्षित गरेर प्रदर्शनमा आएको हाम्रो फिल्मको प्रचारप्रसारसँगै त्यस्ता मायालु जोडिहरुको माया अझै प्रगाढ बनाउनका लागि हामीले एफएमसँग सहकार्य गरेका हौँ ।’ आशुसेन फिल्म प्रोडक्शनका संचालक तथा फिल्मका निर्माता सन्तोष सेनले भने–‘यो सहकार्यले दुवै पक्षलाई उत्तिकै फाईदा हुने कुरामा हामी ढुक्क छौँ ।’
यो कार्यक्रमको प्रायोजन गरेको फिल्म ‘प्रेमगीत’ सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म हो । यो फिल्ममा प्रदिप खड्का, पुजा शर्मा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको गीत ‘म यस्तो गीत गाउँछु’ यतिबेला निकै हिट पनि भैरहेको छ । फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका हुन् ।
