
काठमाडौं, फागुन २-
नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोह राजधानीको खुलामञ्चमा हुने भएको छ भने बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
दलका पदाधिकारी, काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
‘यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रङ्गशालामा गर्ने भनिए पनि खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आज निरीक्षण गरिएको छ, खुलामञ्च नै उद्घाटनका लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुग्नुभएको छ,’ निरीक्षणपछि केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने ।
सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । कांग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आज पहिलो पटक औपचारिक बैठक बसेको थियो ।
