खिमाको हत्या नै भएको परिवारको दाबी, प्रहरीले दुव्र्यवहार गरेको आरोप

Share:

रञ्जन अधिकारी पोखरा, २ फागुन / ‘मेरी छोरीलाई जसरी डिग्री सम्म पढाउँछु भनेको थिएँ । सोचेजस्तै पढिन् । बैंकमा काम गरिन् ।’ प्रेमबहादुर गर्बुजा पुन सुनाउँदै थिए– ‘बुद्धिजीविकै संगतमा राखेँ । म महिलाहरु अगाडि आउनुपर्छ भन्ने मान्छे । आज मेरै छोरीको हत्या भयो । म उसलाई न्याय नदिलाईकन रोएर हिँड्दिन ।’ यसरी आफ्नै छोरीको मृत्युमा समेत आँशु नदेखाईकन संकल्प लिएर अघि बढ्ने अठोट लिएका प्रेमबहादुर बेगनासतालमा डुबेको अवस्थामा मृत भेटिएकी लेखनाथ १२ ढुंगेपाटनकी खिममाया पुनका बाबु हुन् ।

२९ वर्षीया खिममायाको हत्या भएको ठहर गर्दै उनले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने पनि बताए । शवमा चोट नदेखिएको भनेर प्रहरीले भन्नु तर निधारको दाहिने तर्फ चोट देखिनु, छोरीको ब्याग, मोबाईल केहि कतै नभेटिनु, प्रहरीले गैरजिम्मेवार जवाफ दिनु र किटानी जाहेरी समेत लिन नमान्नुले छोरीको हत्या नै भएको उनको दाबी छ । प्रहरीले खिममायाको सामान हावाले उडायो भन्दा पीडामाथि पीडा थपिएको समेत उनले दुःखेसो पोखे ।

खिममाया पुनको मृत्यु सम्बन्धमा आईतबार नेपाल मगर संघ, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले छोरी कतै साथीहरुकोमा गएपनि सम्पर्क गर्ने गरेको तर बेखबर गायब भएकाले हत्या नै भएको दाबी गरे । मास्टर्स डिग्री होल्डर खिममाया फेवा विकास बैंकमा कार्यरत रहेको र कोहि पनि प्रेमी नभएकाले आत्महत्या हुनै नसक्ने जिकिर गर्दै शवको प्रकृति हेर्दा पनि हत्या नै देखिएको परिवारले ठोकुवा गरेका छन् ।

बुबा प्रेमप्रसादले पोष्टमार्टम रिपोर्ट आईसकेपनि प्रहरीले आएको छैन भनेर टारेको भन्दै असन्तुष्टि पोखे । उनले आफुहरुले आशंका गरेको बैंकका हाकिमसँग प्रहरीको छुट्टै भेट हुने गरेको भन्दै यसमा पनि तितो प्रकट गरेका छन् ।

Khima Punnn

यसैबीच, नेपाल मगर संघ, कास्कीले आईतबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाए । यस्तै, मगर संघका सदस्यहरुले प्रशासन कार्यालय परिसरमा दवावमुलक कार्यक्रम आयोजना गरेको पनि जानकारी दिएका छन् । लगत्तै आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुर्णबहादुर रानामगरले हत्या हो होईन भन्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायलाई गहिरो गरी अध्ययन गर्न निर्देशन दिने बताएको जनाए । यद्यपी, रानाले प्रजिअलाई बुझाईएको ज्ञापनपत्रको प्रतिलिपि सहभागीलाई बाँडेर सुनाए ।

‘लेखनाथ १ सैनिकबस्ती स्थित फेवा विकास बैंकमा कार्यरत रहेको अवस्थामा सो बैंकका हाकिम अरुण सापकोटाले मृतक खिममायालाई बेलाबखतमा गाली गलौज गर्ने गरेकाले शव फेला परेको विषय संकास्पद र रहस्यमय बन्न गएको छ ’ – ज्ञापनपत्रमा लेखिएको छ– ‘२०७२ माघ २५ विहान सदाझै खाना खाएर जागिरमा गएरको र दिनको १ बजे आफ्ना बाबुलाई मृतक खिममायाले फोन गरेको तर फोटन काटिएर पछि सम्पर्क गर्दा फोन सम्पर्क नभएको एवं स्वीवच अफ हुनुले समेत मृत्युलाई थप शंकाको घेरामा राखेको छ ।’

ज्ञापनपत्रमा भनिएको छ – ‘माघ २८ गते विहान १० बजे बैंकका हाकिम अरुण सापकोटा मृतकको घरमा पुगी उनको बुबालाई तपाईंको छोरी कता छिन् ? उनलाई मैले गालीगलौज गरेको थिएँ, त्यसैले सम्झाई बुझाई गरी लैजान्छु भनेर आएको हुँ भनेर भन्नु तथा मृतकको निधारमा गहिरो चोट हुनुले पनि खिममायाको मृत्यु स्वभाविक नभई हत्या भएको आशंका लागेको छ ।’

माघ २५ मा भेटिएको शव पहिले विदेशी महिलाको शव भनिएपनि पछि खिममायाको भएको माघ २८ गतेमात्रै खुलेको थियो । पोखरामा एघार दिनभित्र ४ महिला मृत भेटिए । माघ १६ मा मालेपाटनमा भेटिएको सरस्वती लिम्बु मृत्यु प्रकरण अझै रहस्यमय नै छ । माघ १९ गते मृत भेटिएकी नयाँगाउँकी यरुना पुन नेहाको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढिसकेको छ तर आफन्तजन प्रहरीको रिपोर्टप्रति अझै आशंका गर्छन् । माघ २७ मा बाँझापाटन नहरमा जमुना सुवेदीको शव भेटियो । नेपाल मगर संघ कास्कीले गत वर्ष पोखरा बसेर अध्ययन गरेकी ओसिम गुरुङको नवलपरासीमा भएको हत्यादेखि खिममाया पुनसम्मको मृत्यु सम्बन्धमा सम्बन्धित प्रहरी निकाय गम्भीर भएर लाग्न ध्यानाकर्षण समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: