आयल निगम र विराट विरुद्ध अनेरास्ववियूद्धारा अख्तियारमा मुद्धा

Share:

काठमाडौँ, ३ चैत-
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाल आयल निगम र विराट पेट्रोलियम कम्पनीकाबीच भएको सम्झौताका विषयमा छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा आज मुद्दा दायर गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष नविना लामाको नेतृत्वमा उक्त कार्यालय पुगेको प्रतिनिधिमण्डलले आयल निगममा भएको भ्रष्टाचार, कमिसनका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करलाई ध्यानाकर्षण समेत गराएको छ ।

विराट कम्पनीले दैनिक तीन लाख लिटर पेट्रोल प्रचलित मूल्य भन्दा ३० रुपैयाँ बढी लिएर पाँच दिनसम्म बिक्री गर्दा प्राप्त भएको रु चार करोड ५० लाख राज्यकोषमा दाखिला गर्न समेत सङ्गठनले माग गरेको छ ।

प्रवक्ता पुस्करले नियम मिचेर गरिने काम कारबाही तथा उपभोक्तालाई मर्कापर्ने काम गर्ने कुनै पनि निकायलाई छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको सङ्गठनका उपाध्यक्ष महेश वर्तौलाले जानकारी दिनुभयो ।

यसैबीच सङ्गठनका उपाध्यक्ष वर्तौलाकाअनुसार उक्त सङ्गठनले कालोबजारी नियन्त्रण गर्न काठमाडौँका बजार बिहीबारदेखि अनुगमन अभियान सञ्चालन गरी दोषी व्यापारीलाई पहिचान गरी सरकारलाई बुझाउने छ ।

कमेन्ट गर्नुहोस्
Share: