रञ्जन अधिकारी, पोखरा २३ जेठ / थकाली जातिको मौलिक संस्कृति, भाषा, भेषभूषा आदिको संरक्षण एवं सम्वद्र्धनका लागि स्थापित थकाली सेवा समितिले शुक्रबार ६० औं वार्षिक साधारणसभाको अवसर पारी देशपूजा सम्पन्न गरेको छ । पुर्खाहरुले गाउँमा रोगब्याधी नफैलियोस्, खेतीपाती राम्रो होस् भन्ने कामनाका साथ भूमि पुज्दै आएकोमा पोखरामा रहेका थकालीहरुले पनि साधारणसभाको अवसरमा देशपूजा गरेका हुन् ।
साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि समितिका केन्द्रीय उपाध्यक्ष डा. सोमतसिंह तुलाचनले थकाली जातिको भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । ‘राज्य पुर्नसंरचना र आफ्नो पहिचानको सवालमा थकालीहरु एकजुट हुनुपर्छ ।’ उनले भने– ‘हामी आफ्नो हक अधिकार स्थापनाका लागि लड्नैपरे पनि पछि पर्नुहुँदैन। तर, अतिवादी पनि हुनुहुँदैन ।’
समाजका केन्द्रीय सदस्य प्रा. ज्योति भट्टचनले आफ्नो संस्कृति रहेमात्र जाति रहने भन्दै यसलाई संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याईन् ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले सबै आदिवासी जनजातिहरुले आफ्ना जातिय मौलिक पहिचान बोकेका भाषा, धर्म, संस्कृति एवं संस्कारको संरक्षण सम्वद्र्धनमा लाग्नुपर्ने बताए ।
साधारणसभामा सचिव आत्मा तुलाचनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मिनबहादुर गौचनको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
समितिका अध्यक्ष अम्बर तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वमोहन गौचनले स्वागत तथा सचिव आत्मा तुलाचनले संचालन गरेकी थिईन् ।
सो अवसरमा कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने एनिता गौचनलाई रु. २ हजार प्रदान गर्दै पूर्णप्रसाद अक्षयकोषद्वारा सम्मान गरिएको थियो । पूर्णप्रसाद र शुक्रकुमारी तुलाचनले आठ वर्षअघि छोरा डा. दिव्य तुलाचनको बिहेमा मदिराका लागि खर्च हुने ५० हजार रुपैंया जोगाएर अक्षयकोष स्थापना गरेकोमा दिनहुँ १५ रुपैंयाका दरले जम्मा गर्दै आएकोमा अहिले अक्षयकोषमा एक लाख २७ हजार पुगेको पूर्णप्रसादले बताए ।
यस्तै, लक्ष्मी गौचनले दिवंगत छोरा प्रदीपको नाममा स्थापना गरेको प्रदीप गौचन अक्ष्यकोषबाट कक्षा ५ का छात्र दिलिप गौचन र छात्रा अनु शेरचन जनही ३÷३ हजार रुपैंयाले पुरस्कृत भए ।
