निःशुल्क प्रवेशाज्ञाको व्यवस्थाबाट पछि नहट्न दवाव

259
0
Share:

काठमाडौँ, २१ चैत-
खाडीका छ मुलुक र मलेसियामा वैदेशिक रोजगारीका लागि लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाबाट पछि हट्न चलखेल भइरहेको भन्दै त्यसको विरोधमा विभिन्न सङ्घ सङ्स्था दबाबमूलक कार्यक्रममा उत्रिएका छन् ।

म्यानपावर सञ्चालकको प्रभावमा परी कामदारको पक्षमा रहेको निःशुल्कको निर्णयबाट सरकार पछि हट्न नहुनेमा उनीहरुले सचेत गराएका छन् । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गत असार २१ गतेदेखि लागू हुनेगरी खाडीका छ र मलेसियामा निःशुल्क टिकट र प्रवेशाज्ञाको निर्णय गर्नुभएको थियो ।

सो निर्णयलाई स्वीकार गरिसकेका वैदेशिक रोजगार व्यवसायी गत फागुन १२ गते प्रहरीले १८ म्यानपावर कार्यालयमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएका छन् । प्रहरीको छापापछि सङ्घले निःशुल्कको पुरानो निर्णय उल्ट्याउनुपर्ने नयाँ अत्तो थप्दै गत फागुन २३ गतेदेखि विदेशमा कामदार पठाउन रोक लगाउने निर्णय ग¥यो ।

तर सङ्घको निर्णय विपरीत अधिकांश व्यवसायीले कामदार पठाउन रोकेनन् र पूर्व र अन्तिम श्रम स्वीकृति लिइरहेपछि आन्दोलन असफल भएको थियो । आन्दोलन असफल भएपछि एकलौटी रुपमा सङ्घले गत शुक्रबारबाट अन्तिम श्रम स्वीकृति नरोक्ने गरी आन्दोलनको कार्यक्रम परिवर्तन ग¥यो ।

व्यवसायीहरुले विभिन्न व्यक्तिलाई प्रभावमा पारी श्रम तथा रोजगार मन्त्रालय र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट निःशुल्कको निर्णय उल्ट्याउने चलखेललाई तीव्रता दिइरहेका छन् । गत चैत ७ गते बसेको समितिको बैठकमा केही सांसदले व्यवसायीको पक्षपोषण गर्दै निःशुल्कको निर्णय परिमार्जन गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: