
रञ्जन अधिकारी पोखरा, २४ जेठ ।
‘जीन्दगी लुगा भइदिएको भए फुकालेर झुण्डाइदिन्थे, आफ्नै कोठाको किलामा
र हेरेर बस्न हुन्थ्यो, आफू झुण्डिएको आफ्नै कोठाको किलामा’
साहित्यकार तुलसी दिवसले यसै दुई पंक्ति कविता वाचनसँगै काव्य उत्सवको बिट मारिरहँदा शनिबार दिउँसो पोखरा उद्योग वाणिज्य संघको हलमा उपस्थित कविमनलाई भने कविता सुन्ने धोको पूरा नभएको महसुस हुन्थ्यो ।
पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको ‘पोखरा काव्य उत्सव–२०७१’ मा प्रमुख अतिथिका रुपमा निम्त्याईएका कवि दिवसले पोखरालाई ‘सांस्कृतिक राजधानी’ नै घोषणा समेत गरे । उनले भने ‘पोखराको साहित्यिक इतिहासमा कार्यक्रमले छुट्टै महत्व स्थापित गरेको छ ।’
काव्यउत्सवमा नेपालका विभिन्न जिल्लाका तथा भारतको दाजिर्लिङ, सिक्किम, कालेबुङ, सिलिगढी लगायतका स्थानबाट आएका ३० जना कविहरुले आ–आफ्ना प्रतिनिधि कविताहरु प्रस्तुत गरेका थिए । पोखराका कविद्वय सरुभक्त र तीर्थ श्रेष्ठ सहित भारतीय कविहरु मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, रेमिका थापा, उदय थुलुङ र मनोज बोगटीले कविता वाचन गरेका थिए ।
साहित्यकार सरुभक्तले ‘बहुलाही आमाहरुको जुलुस’ शीर्षकको कविता वाचन गरे भने कवि तीर्थ श्रेष्ठले राजधानी र नेपालको प्रशासनतन्त्रमाथि व्यङ्ग्य गर्दै ‘घण्टाघर’ को कविता सुनाए । अर्का पोखरेली श्रष्टा रमेश श्रेष्ठले ‘नदी उत्सव’ शीर्षकको कविता वाचन गरे ।
युवा कविहरु चितवनका भूपिन र नुवाकोटका राबतसँगै तेह्रथुमका श्रष्टा बिमला तुम्खेवाले ‘हजार सपना र मनमाया’ शीर्षकको कविता सुनाए । पोखरेली कवि लक्ष्मण थापाले‘युद्धको अवसान’ र ईश्वरमणि अधिकारीले ‘घर’, काठमाडौंकीसुलोचना मानन्धरले ‘रात’ शीर्षकको कविता सुनाए । कार्यक्रममा विमल निभा, विक्रम सुब्बा, श्यामल, श्रवण मुकारुङ, विप्लव ढकाल, मनु मन्जिल, सुदीप पाख्रिन लगायतले कविता वाचन गरेका थिए ।
परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकाश ज्ञवालीले गरेका थिए ।
यसैबीच, आईतबार कविहरुबीच अन्तर संवाद कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम सफल पार्न करिव ५ लाख खर्च लाग्ने अनुमान गरिएको परिवारका कोषाध्यक्ष मोती भूजेलले जानकारी दिए । कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रचार–प्रसार संयोजक सुरेश रानाभाटले जानकारी दिए । सरुभक्तको संयोजकत्वमा अतिथि सत्कार उप–समिति, कृष्णमोहन श्रेष्ठको संयोजकत्वमा आर्थिक संकलन उप–समिति आनन्द श्रेष्ठको संयोजकत्वमा मञ्च सज्जा, ध्वनि तथा प्रकाश व्यवस्थापन उप–समिति र सरस्वती प्रतीक्षाको संयोजकत्वमा कवि चयन उप–समिति गठन गरिएको थियो ।
