
रञ्जन अधिकारी
पोखरा ४ बैशाख-
पोखराको मैदानमा पुनः रञ्जन विष्ट नायक बन्दा शसस्त्र प्रहरीको एपिएफ क्लबले सेमिफाईनलमा स्थान सुरक्षित गरेको छ । मनकामना केबलकार पोखरा कप अन्तर्गत शनिबार भएको पहिलो क्वार्टरफाईनल खेलमा नेपाल पुलिसलाई २–० गोलले हराउने क्रममा दुवै गोल रञ्जनले गरेका हुन् ।
यसअघि, पहिलो खेलमा नवजनजागृति क्लब सिमरालाई ४–० गोलले हराउने क्रममा पनि रञ्जनले ह्याट्रिक गर्दै म्यान अफ दि म्याच बनेका थिए । दोस्रो खेलमा पनि उनी नै म्यान अफ दि म्याच बने । डिफेण्डिङ च्याम्पियन समेत रहेको पुलिसको भने यो पहिलो खेल हो । पुलिस बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको हो । खेल निकै प्रतिष्पर्धात्मक रुपमा सुरु भएको थियो । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा विष्टले एपिएफको लागि दुई गोल गरे । खेलको ५९ औं मिनेटमा रञ्जनले सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि पुनः अर्को गोल गरे र जित सुनिश्चित पारे ।
विजेता एपिएफले फाईनल प्रवेशको लागि बैशाख ८ गते मनाङमस्र्याङदी र झापा ११ बीचको विजेतासँग खेल्नेछ । यी दुई टीम आईतबार दोस्रो क्वार्टरफाईनलमा प्रतिष्पर्धामा उत्रदैंछन् ।
पोखरा कपका अघिल्ला चार संस्करणमा पुलिस र एपीएफ तीन संस्करणमा मात्र सहभागी भएका छन् । तेस्रो संस्करणमा सहभागिता नजनाएको पुलिस पहिलो संस्करणमा आरसिटीसँग र दोस्रो संस्करणमा मच्छिन्द्रसँग हार व्यहोर्दै प्रिक्वार्टरमै बाहिरिएको थियो । पुलिसले गत वर्ष उपाधि जित्ने क्रममा थ्रीस्टारलाई सडेन डेथमा पराजित गरेको थियो । प्रथम संस्करणमा सहभागी नभएको एपीएफ दोस्रो संस्करणमा मनाङसँग क्वार्टरफाईनलमै बाहिरिएको थियो भने दोस्रोमा आयोजक टीमसँग पहिलो खेलमै पराजित भएको थियो । गत संस्करणमा भने सेमिफाईनलमा थ्रीस्टारसँग सेमिफाईनलमा हारेको थियो ।
खेलपछि पुलिस क्लबका प्रशिक्षक विराट कृष्ण श्रेष्ठले गोल रक्षकको गल्तीका कारण आफ्नो टीमले पहिलो गोल व्यहोर्नुपरेको बताए । उनले टीमका खेलाडीबीच तारतम्य पनि नमिलेको बताए । खेलाडीले ब्याकपास राम्रो खेल्न नसक्नुनै हारको मुख्य कारण रहेको उनको भनाइ रहेको थियो ।
एपीएफ प्रशिक्षक जनक सिंह थारुले अघिल्लो संस्करणमा पहिलो खेलबाटै बाहिरिएको एपिएफ क्लव यो पटकको प्रतियोगितामा लगातार दोश्रो खेल जित्न सफल भएकोमा खुसी व्यक्त गरे । पहिलो हाफमा मिसपास भएका कारण खेल राम्रो हुन नसकेपनि दोश्रो हाफमा आफ्नो टीम राम्रो खेलेको र नतिजा राम्रो आएको सिंहले बताए । आगामी खेल झनै उत्कृष्ट बनाउने प्रयत्नमा लाग्ने थारुको भनाई छ ।
