रञ्जन अधिकारी पोखरा, ७ असार / टाटा मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि मार्फत गण्डकी र धौलागिरीका लागि आधिकारीक डिलर दीप लक्ष्मी ब्राईट ईन्टरनेशल प्रालिले टाटा मोटर्सको इण्डिका सीआर फोर कार पोखरामा भित्राएको छ ।
शनिबार एक समारोहका बीच पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोईराला, सिप्रदी ट्रेडिङ प्रालि काठमाण्डौंका प्रोडक्ट म्यानेजर कैलाशबाबु गेलाल र दीपलक्ष्मी ब्राईटका अध्यक्ष राजेन्द्र बाटाजुले संयुक्त रुपमा लञ्च गरे । कम ईन्धन खपत गर्ने टाटाको यो गाडीले एक लिटर डिजलले २५ किलोमिटरको माईलेज दिने कम्पनीको दाबी छ ।
नेपालका लागि यस गाडीको बजार मूल्य १९ लाख ४५ हजारदेखि १९ लाख ९५ हजारसम्म रहेको छ । चार विभिन्न रंगमा उपलब्ध रहेको यस गाडी खरीदमा हाललाई १८ महिना वारेण्टी समेत रहेको कम्पनीले जनाएको छ ।
विक्री शुभारम्भ कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीबहादुर कोईरालाले तुलनात्मक रुपमा कम मूल्य र बढि माईलेजका कारण पोखरामा यस गाडीले राम्रो बजार लिने विश्वास व्यक्त गरे । टाटा कम्पनीका गाडीहरु नेपाली बजारमा लोकप्रिय रहेको र पोखरामा विगत ५ वर्षदेखि दीपलक्ष्मी ब्राईट ईन्टरनेशनल प्रालिले कम्पनीका गाडीहरु उपलब्ध गराएको भन्दै उनले खुशी व्यक्त गरे ।
सिप्रदी ट्रेडिङ प्रालि काठमाण्डौंका प्रोडक्ट म्यानेजर कैलाशबाबु गेलालले ज्यादा माईलेज, अटो ड्राईभ असिस्ट, क्लच टु स्टार्ट जस्ता सुविधाले इण्डिका सीआरफोर गाडी उत्कृष्ट, सुरक्षित र अध्याधुनिक भएको बताए । अहिलेसम्म २५ गाडी बुकिङ भईसकेको जानकारी दिँदै उनले आकर्षक सजावट, पर्याप्त क्याबिन र आरामदायी सिटहरुले परिवारका लागि उपयुक्त हुने बताए ।
१३९६ सीसी ईञ्जिन र १६ भल्भ क्षमता रहेको सो गाडीमा पावर विन्डोज, ब्लु टुथ जडित म्युजिक सिष्टम, किलेस इन्ट्रि यूएसबी पोर्ट उपलब्ध छ ।
