विक्रम वालिङ राईको ‘खोटो भाग्य’

Share:

रञ्जन अधिकारी पोखरा, २६ असार भोजपुरदेखि आएर पोखरालाई कर्मथलो बनाई संगीत क्षेत्रमा क्रियाशील विक्रम वालिङ राईको पहिलो गीति संग्रह ‘खोटो भाग्य’ बजारमा आएको छ । राईको एकल संगीत रहेको सो एल्बमको पोखरामा विहिबार एक कार्यक्रमका बीच साहित्यकार सरुभक्तले विमोचन गरे ।

कूल पाँच गीत समाविष्ट सो एल्बममा उनीसहित चर्चित गायकहरु राजेश पायल राई, कृष्णभक्त राईका साथै सरला वान्तवा राई, पाण्डव गुरुङ र शितल लिम्बुको आवाज छ । एल्बममा कृष्ण थापा मगर, मन लोहोरुङ राई र संगीतकार आफ्नै शब्द छन् भने गीतहरुलाई सुनिल थापा, अमित गुरुङ र कृष्णभक्त राईले एरेञ्ज गरेका छन् । ‘देश बाँचे त …’ शीर्षकको राष्ट्रप्रेम भावले ओतप्रोत गीत पनि एल्बममा अटाएको छ ।

तराना म्युजिक सेण्टरको आयोजनामा भएको विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरुभक्तले यस्ता प्रतिभावान कलाकारकै कारण पोखरा संस्कृतिको राजधानी बनेको उल्लेख गरे। उनले सर्जकको भाग्य खोटो नहुने र उनीहरु भाग्यभन्दा कर्मको विश्वासमा रहने बताए । ‘कलाकारहरुले दुःख पाउँछन् तर भाग्य खोटो हुँदैन ।’ सरुभक्तले भने – ‘नाम खोटो भएपनि यस एल्बमले राईको भाग्य चम्किऊन् ।’

गीतकार तथा हिमचुली एफएमका स्टेशन म्यानेजर दिलिप राईले संगीतले नै शब्दको न्याय गर्ने भएकाले गीतमा संगीत र स्वरको महत्वपूर्ण भूमिका रहने बताए । राईका गीतहरु निकै उत्कृष्ट रहेको भन्दै उनले प्रशंसा गरे । झिगु भायः का कृष्णबहादुर श्रेष्ठले पोखरामा रहेर सीमित स्रोत र साधनले राष्ट्रिय स्तरका कलाकारलाई समेटेर एल्बम निकाल्नु सानो कुरा नभएको उल्लेख गरे ।

एल्बमको समिक्षा गर्दै सञ्चारकर्मी नवराज त्रिपाठीले पीडाभावको नाम भएपनि समग्रमा एल्बम निकै राम्रो बनेको बताए । चर्चित गायकहरुको स्वर, कर्णप्रिय संगीत र मनै छुने शब्दको सम्मिश्रणले एल्बममा कुनै खोट नरहेको उनले उल्लेख गरे ।

तराना म्युजिक सेण्टरका प्रबन्ध निर्देशक, संगीतकार श्रीमान थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा काजी राईले स्रष्टा परिचय दिएका थिए । प्रशिक्षार्थी सुष्मा शेरचनले स्वागत तथा मोहन सुनुवारले कार्यक्रमको सञ्चालन गरेका थिए । नवसंगीतकार राईले पाखेरामा सप्तगण्डकी म्युजिक ईन्स्टिच्युट संचालन गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: