रञ्जन अधिकारी पोखरा, असार २९ / सिर्जनशील कलाकार समूह, पोखराको आयोजनामा आईतबारदेखि मनसुन २०७१ चित्रकला प्रदर्शनी सुरु भएको छ । महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीमा साउन ४ गतेसम्म चल्ने प्रदर्शनीमा ३४ जना अग्रज तथा नव कलाकारले बनाएका चित्रहरु राखिएका छन् । सो अवधिमा पूर्वान्ह ११ बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी खुल्ला रहनेछ ।
केहि समय अघि समूहले आयोजना गरेको कार्यशालामा तयार गरिएका चित्रहरुको प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा अलिता गुरुङ, अमृत कार्की, अनिता गुरुङ, विकास श्रेष्ठ, विश्वराज पराजुली, बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, डिबी गुरुङ, दुर्गा बराल, गोपाल दराई, गोपाल श्रेष्ठ, हेमकान्ति गुरुङ, ईशान परियार, जगत पुन, झविन्द्र गुरुङ, ज्योति गुरुङ, किरण रञ्जित, केदार पालिखे, लिना गुरुङ, लोकप्रसाद गुरुङ, मनोज तामाङ, मिलन शेरचन, मीना गुरुङ, नगेनसिंह ठकुरी, ओशुभा गुरुङ, पदम घले, रमेश श्रेष्ठ, सञ्जय गुरुङ, सुविन गुरुङ, सुन्दर अधिकारी, सूर्य बराईली, थमनसिंह सुनार, उमेद पौडेल र युवराज लामिछानेले तयार गरेका चित्रहरु समावेश छन् ।
प्रदर्शनीको युवा उद्यमी उत्तममान बुद्धाचार्यले शुभारम्भ गरे । उनले ४२ वर्ष अघि सातजना युवा चित्रकारहरुबाट प्रारम्भ भएको यो संस्थामा हाल २५ भन्दा बढि प्रतिभावान युवाहरु आबद्ध हुनु सकारात्मक रहेको भन्दै यस्तै प्रदर्शनी आयोजना गर्नुपर्नेमा जोड दिए ।
कलाकार दुर्गा बराल वात्स्यायनले प्रत्येक वर्ष नियमित जस्तै हुने कला कार्यशाल, कला भ्रमण आदिले पोखराको कला गतिविधिमा उल्लेखनीय प्रगति भएको भन्दै यस्ता कार्यक्रमको निरन्तरताको लागि आग्रह गरे । उनले राज्यले नहेरेसम्म कलाको विकास हुन नसक्ने पनि बताए । विम्वकवि रमेश श्रेष्ठले नयाँ शिल्प र कलात्मक दक्षता बढ्दै गएकोमा खुशी व्यक्त गरे ।
सो अवसरमा समाजसेवी अशोक पालिखेले समूहका लागि जेके आर्ट म्युजियमको तर्फबाट एक थान साउण्ड सिष्टम पनि प्रदान गरेका थिए ।
समूहका अध्यक्ष पदम घलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यष विश्वराज पराजुलीले स्वागत तथा सचिव सूर्य बराईलीले सञ्चालन गरेका थिए ।
