
पोखरा, ८ मंसिर-
कर्णप्रिय स्वरका धनी गायक कर्णदासको संयोजनमा पोखराको सीतापाइलास्थित वृद्धाश्रममा आश्रित वृद्धवद्धाहरुलाई विभिन्न सामग्रिहरु सहयोग गरिएको छ । पछिल्लो पटक अष्ट्रेलिया जाँदा संकलन भएको रकममध्ये कर्णदास र अन्य साथीहरुको सहयोगमा २ लाख ५० हजार रुपैयाँ बराबरका मनोरञ्जनात्मक तथा खाद्यान्न सामग्रिहरु सहयोग गरिएको हो ।
५५ इन्चको स्मार्ट टेलिभिजन र साउण्ड सिस्टम सेट सँगै खाध्यान्न सामाग्रीहरु वृद्धाश्रमका लागि सहयोग गरिएको गायक कर्णदासले जानकारी दिए ।
वृद्धवृद्धाहरुलाई मनोरञ्जन र विभिन्न सूचना एवं समाचार थाहा पाउन सहज होस् भनेर यी सामग्रि सहयोग गरिएको उनले बताए ।
टेलिभिजनको लागी बिरेन खड्का युके, सचिता कर्माचार्य काठमाण्डौं, सिन्धु राणा काठमाण्डौं र खाध्यान्नको लागी किशनमान बुद्धाचार्य, चन्द्र कुँवर, सुरज श्रेष्ठ, योगेश काजी, अर्जुन बस्याल, मायादेवि लामिछाने र प्रभात प्रतिकले सहयोग गरेका थिए ।
१३ बर्ष अगाडी सीता पाइला वृद्धाश्रम स्थापना भएलगत्तै पहिलो पटक सहयोग गर्ने सहयोगदाता पनि गायक कर्णदास नै भएको सीता पाइला वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले बताए ।
