
फागुन ७ गते-
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय पोखराले शनिवार एक समारोहकाबीच नेपाल मानवअधिकार वर्षपुस्तक २०१७ को सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले वर्ष पुस्तक २०१७ सार्वजानिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै मानवअधिकार आयोगका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गोविन्द शर्मा पौडेलले राष्ट्रिय मानवअधिकार आयोगसंगै मानवअधिकारको संरक्षणका र सम्र्बद्धनका लागी इन्सेकले पनि समन्वयकारी भुमिका खेलेकोमा आभार व्यक्त गरे । पौडेलले वर्ष पुस्तकलाई ग्रामिण तहका विद्यालय तथा जनतासम्म पुर्याउनु पर्ने बताए ।
त्यस्तै नेपालमा राजनितिक अस्थिरताका कारणले मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको र नेपालले विभिन्न सन्धि तथा महासन्धिमा हस्ताक्षर गरेपनी कार्यन्वयन नहुँदा नागरिकले मानवअधिकारको प्रत्याभुति महसुस गर्न नपाएको बताए । आयोगका सदस्य पौडेलले आगामी दिनमा इन्सेकले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका बिषयलाइ वर्षपुस्तकमा समेट्नु पर्ने बताए ।
सार्वजनिकीकरणका कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका विशेष अतिथी हरी प्रसाद मैनालीले गैरसरकारी संस्था भएर पनि सरकारसंग सहकार्य गरी दण्डहिनताको अन्त्य र कानुनी शासनको पालनामा सहयोग पुर्याएकोमा इन्सेकको भुमिका सरहानीय भएको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रको अवस्था प्रतिवेदन प्रस्तुत गर्दै हरेक वर्ष फागुन ७ गते सार्वजनिक गरिने पुस्तकमा अंग्रेजी वर्षभर देशभरमा घटेका मानवअधिकार उल्लंघनका घटना समेटेर हरेक वर्ष वर्षपुस्तक प्रकाशन गरेको इन्सेक क्षेत्रीय संयोजक शिव खकुरेलले बताए ।
पश्चिमाञ्चलमा यस वर्ष राज्यका तर्फबाट १३ महिला ७८ पुरुष गरी ९१ जना र गैर राज्यको तर्फबाट ५सय ६७ महिला र ९२ पुरुष गरी ७ सय ४० जना व्यक्ति पिडित भएको वर्ष पुस्तकमा उल्लेख रहेको क्षेत्रीय संयोजक खकुरेलले बताए । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रबाट उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा बागलुङ जिल्ला प्रतिनिधि सृजना पन्तलाई नगद र प्रमाणपत्र सहित सम्मानित गरिएको छ ।
कार्यक्रमको संञ्चालन पश्चिमाञ्चल क्षेत्रीय कार्यलयकी कार्यक्रम संयोजक सवनम शर्माले गरेकी थिईन् भने प्रलेख अधिकृत सुमित्रा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ वराल, गैसस महासंघका केन्द्रीय सचिव राम प्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका गण्डकी अञ्चल ईञ्चार्ज शंकर वराल, राप्रपाका मोतिमान शाक्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा पोख्रेल, नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्ण थापाले मन्तव्य राखेका थिए ।
