जंगल फेस्टिभलमा दर्शक थामिनसक्नु, जंगलभित्र रेस्लिङ खेल्न मंगलबार आउँदैछ भारतीय टोली

Share:

रेम बिक
पोखरा, १६ फागुन । पोखरा शान्तिवन वाटिकामा जारी तेस्रो सँस्करणको जंगल फेस्टिभलमा दर्शक सँख्या ह्वात्तै बढेको छ । निरन्तर परेको बिदा र बलियो ‘वर्ड अफ माउथ’को प्रभावले फेस्टिभलमा दर्शकको सँख्या निकै बढेको आयोजकले अनुमान लगाएको छ ।

आयोजक परिचय नेपालका अनुसार अघिल्ला सँस्करणको अनुभवमा जंगल फेस्टिभलमा अहिले देखिएको दर्शकको भीड अहिलेसम्मकै सर्वाधिक हो । एकै प्रकारका मेला महोत्सवले वाक्क भएका दर्शकले केहि फरक पाएकै कारण जंगल फेस्टिभललाई अत्याधिक रुचाएको आयोजकले दाबी गरेको छ । ‘दर्शकको उल्लेख्य सहभागिताले हामीलाई खुब हौस्याएको छ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘फरक र सृजनात्मक काम गर्ने अझै बढि उर्जा मिलेको छ ।’

जंगलमै खानपिन गर्नुसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु अवलोकन गरेर दर्शकले फेस्टिभलको भरपुर मज्जा लिईरहेका छन् । विभिन्न कलाकृतिले सिंगारिएको जंगलमा दिन भरि दर्शकले फरक फरक कुराहरुको दृश्यावोलकन गर्दैं अनुसन्धान गर्न पनि सक्छन् । खासगरि जंगलमा बालबालिकासँगै उनीहरुको अभिभावक र युवापुस्ताका दर्शक बढि आकर्षित भैरहेको आयोजकले बताएको छ ।

त्यस्तै साँगीतिक कार्यक्रमले पनि दर्शकको ध्यान खिचेको छ । जंगलभित्र साँझपख हुने फेशन शो युवापुस्ताका दर्शकको लागि खुराक बनेको छ । जंगलभित्रको भूतघर पनि दर्शकको लागि आकर्षण बनेको छ । त्यो सँगै जंगलभित्र घोडा र ऊँटमा चढेर रमाउनेहरुको सँख्या पनि निकै बाक्लो रहेको छ । सर्कस र जादुलाई समेत दर्शकले निकै रुचाएका छन् ।

यसैबीच जंगलभित्रै रेस्लिङ खेल्नका लागि भारतीय रेस्लिङ खेलाडीको टोली सोमबार काठमाण्डौ आईपुगेको छ । मंगलबार बिहानै टोली पोखरा आईपुग्ने आयोजकले जानकारी दिएको छ । जंगलभित्र नेपाल  र भारतका रेस्लिङ खेलाडीबीच भिडन्त हुँदैछ । दर्शकहरुबाट राम्रो ‘रेटिङ’ पाईरहेको जंगल फेस्टिभल फागुन २१ गतेसम्म चल्नेछ ।

तस्वीर: जक्शन डटकम

कमेन्ट गर्नुहोस्
Share: