चैत १८ गते सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले, ३ जना फाइनलिस्ट छनौट

Share:

रेम बिक
पोखरा, ३ फागुन । सातौँ सँस्करणको बिग आइकन फाइनल राउण्डमा प्रवेश गरेको छ । उत्कृष्ट ४ प्रतिस्पर्धीमध्येबाट विहिबार लेखनाथकी सौजन्या तामाङ बाहिरिएपछि प्रतियोगिताले ‘ग्राण्ड फिनाले’ राउण्डमा प्रवेश पाएको हो ।

यो पटक बिग आइकनको ग्राण्ड फिनालेमा चितवट पटिहानीका सागर आले, लेखनाथका सुवास गुरुङ र पोखरा संगमटोलकी प्रिया गुरुङ भिड्दैछन् । सातौँ सँस्करणको बिग आइकनको ‘ग्राण्ड फिनाले’को विशेष कार्यक्रम आगामी चैत १८ गते शुक्रबार पोखरा सभागृहमा हुने एफएमले जनाएको छ ।

५४ जिल्लाका ११ सय ५२ प्रतिस्पर्धीमध्येबाट छानिएर तीन जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालेमा आएका हुन् । करिब २ महिनाको अन्तरालमा भएको २२ भन्दा बढि विभिन्न राउण्ड पार गरेपछि मात्रै उनीहरु यहाँसम्म आइपुगेका हुन् । तीनै जना प्रतिस्पर्धीले ग्राण्ड फिनाले राउण्डका लागि विहिबारै आ–आफ्नो प्रस्तुती दिए । विहिबार भएको ग्राण्ड फिनाले राउण्डमा प्रतिस्पर्धीहरुले २÷२ वटा गीत गाएका थिए ।

विहिबार बाहिरिएकी लेखनाथकी सौजन्या १७ वर्षकी थिइन् । बिग आइकनका अघिल्ला सँस्करणमा समेत सहभागिता जनाईसकेकी सौजन्या बाहिरिने क्रममा निकै भावुक बनिन् । ‘मैले संगीतसम्बन्धि कुनै प्रशिक्षण लिएको थिईन । यद्यपी यो मञ्च नै संगीत अध्ययनको लागि मेरो लागि ठुलो विश्वविद्यालय साबित भयो ।’ सौजन्याले भनिन्–‘म दुखी छैन । बरु मलाई मेरो करिअरको ठुलो चिन्ता छ । अबको दिनमा म साँगीतिक करिअर निर्माणमा म तल्लिन हुनेछु ।’ बाहिरिने क्रममा उनले फाइनल प्रवेश पाएका ३ जना प्रतिस्पर्धीलाई सफलताको शुभकामना दिए ।

विहिबार नै बिग आइकन सातौँ सँस्करणको निर्णायकहरुले पनि फाइनलिस्टलाई शुभकामना दिए । फाइनलिस्ट चयन गर्नका लागि निकै मेहेनत र विवेकका साथ आफुहरुले निर्णय लिएको बताउँदै उनीहरुले ३ जनै प्रतिस्पर्धी विजेताका दाबेदार भएको बताए । यो पटकको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका थिए ।

प्रतियोगिताको सम्पूर्ण राउण्ड सकिएपछि बिग आइकन ग्राण्ड फिनालेको तयारीमा जुटेको छ । आगामी चैत १८ गते हुने ग्राण्ड फिनाले कार्यक्रम भव्य हुने एफएमले जनाएको छ । १८ गतेको सो कार्यक्रममा फाइनलिस्टसँगै उत्कृष्ट १० मा परेका सम्पूर्ण प्रतिस्पर्धीले प्रस्तुती दिनेछन् ।

फाइनलिस्ट छनौटका लागि विहिबार भएको राउण्डमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष तथा अन्नपूर्ण एफएमका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठको विशेष उपस्थिती रह्यो । उनले बिग आइकनले सातौँ वर्षसम्म निरन्तरता पाएर गायन रियालिटि शोहरुको माझमा एउटा ईतिहास रचेको बताए । ‘एउटा नीजि क्षेत्रको लगानीमा संचालित रेडियोले यो खाले कार्यक्रम गर्नु निकै चुनौतीपुर्ण छ । यद्यपी बिग एफएमले यसलाई सफलतापुर्वक गर्दै आएको छ । यो सम्पूर्ण रेडियोकर्मीको लागि गर्वको कुरा हो ।’

साथै उनले फाइनलिस्टलाई सफलताको शुभकामना समेत दिए । ‘फाइनल प्रवेश पाएका तीनै जनालाई शुभकामना । यद्यपी यो कार्यक्रममा बाहिरिएका प्रतिस्पर्धीले पनि हार मान्नु भने हुँदैन ।’ उनले भने–‘प्रतियोगितामा हार स्विकार्न सक्नु पनि जित नै हो । यसले जित्नका लागि अगाडि थुपै्र यस्ता मैदानहरु छन् भन्ने कुराको बोध गराउँछ ।’

बिग आइकनको ग्राण्ड फिनालेबाट सर्वोत्कृष्ट एक जनालाई छनौट गर्न अब पूर्ण रुपमा एसएमएस भोटको भर रहने एफएमले जनाएको छ । भोटिङको आधारमा सातौँ सँस्करणको बिग आइकन छनौट हुनेछन् । जसअनुसार फाइनलमा प्रवेश पाएका सागर आलेलाई भोट गर्न BIG<space> SA, सुबास गुरुङलाई भोट गर्न BIG<space>SG र प्रिया गुरुङलाई भोट गर्न  BIG<space>PG टाइप गरि ३४३२१ मा सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको बिग आइकन बिजेताले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् ।

प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।

त्यस्तै आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज  बार,  विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।

तस्वीर ः जक्शन डटकम

कमेन्ट गर्नुहोस्
Share: