
बिग न्यूज
पोखरा, २५ जेठ । माध्यमिक शिक्षा परिक्षा (एसइइ) दिएर बसेका छात्राहरुलाई सवल, सक्षम बनाई उनीहरुका प्रतिभा तथा कलालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित “मिस एसइइ” को फाईनल जेठ २७ गते शनिवार हुदैछ ।
१७ जना छात्राहरुविच हुने फाईनल प्रतिस्पर्धा पोखरा उद्योग वाणिज्य संघको हलमा शनिवार दिनको २ वजेदेखि शुरु हुनेछ । मिस एसइइ पोखरामा सहभागी छात्राहरुमा सल्मा भाट, रिहा शाही, इशा श्रेष्ठ, स्मृति आचार्य, सोनी गर्वुजा, अस्मिता योगी, झरना थापा, आशिका रानाभाट, आश्वानी पाण्डे, सिवानी थापा मगर, करिना गुरुङ, नेहा गुवाजु, रेश्मा गुरुङ, सोनम खत्री, सोनिया गुरुङ, रोश्नी कार्की र नम्रता सेन रहेका छन् ।
ईभेन्टस फर यू प्रालिको आयोजना सारेगम इन्टरटेन्मेन्ट हाउसको सहकार्य तथा लायन्स क्लब अफ व्युटी सिटिको विशेष सहयोगमा यो कार्यक्रम हुन लागेको हो ।
हाल चलिरहेका सौन्दर्य प्रतियोगिताभन्दा फरक र पृथक शैलीमा यो इभेन्टलाई ल्याईएको कार्यक्रम संयोजक सुशिल नेपालीले बताए । मिस एसइइमा सहभागीलाई आरजे, भिजे, ¥याम वाल्क, म्युजिक तथा डान्स, मोटिभेसनल, फोटोसेसन, वुमन इम्पावरमेन्ट क्लास, पोलिटिसियन लगायतका विषयमा प्रशिक्षण दिईएको आयोजकले बताएको छ ।
मिस एसइइको फाइनल विजेताले नगद २० हजार रुपैयाँको साथमा सिल्भर क्राउन र ३ लाख रुपैयाँ बराबरको उच्च शिक्षा प्राप्त गर्नेछिन् भने फस्ट रनरअफले नगद १५ हजार रुपैयाँ सहित उच्च शिक्षाको लागि छात्रवृत्तिको अवसर प्राप्त गर्नेछिन् ।
त्यसै गरी सेकेण्ड रनरअफले नगद १० हजारको रुपैयाँको साथमा अन्य पुरस्कार पनि प्राप्त गर्ने आयोजक विशाल गुरुङले जानकारी दिए । साथै यस प्रतियोगिताको विजेताले मिस ग्राण्ड नेपाल प्रतियोगितामा सिधै प्रवेश गर्न पाउनेछन् ।
सारेगम इन्टरटेनमेन्ट हाउस २०६६ सालमा स्थापना भई पोखराको क्षेत्रमा कला र संस्कृतीको जर्गेना गर्ने काम गर्दै आएको संस्था हो ।
