
बिग न्यूज
पोखरा, २ मंसिर । कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसबाट प्रतिनीधिसभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका शुक्रराज शर्मा शुक्रबार घरदैलोको क्रममा लाहाचोक र घाचोक पुगेका छन् । शुक्रबार उनी घाचोकको लम्सालथर र लाहाचोकको भिरकटेराका मतदाताहरुमाझ पुगेर आफ्नो पक्षमा भोट मागे । उनले नेपाली काँग्रेसको मतदान चिन्ह रुखमा भोट हालेर आफुलाई जिताउन स्थानियसँग अपील गरे ।
चिरपरिचित नेता शुक्रराजलाई स्थानियले भव्य स्वागत गरेका थिए । जनताको घरदैलोमा पुगेर उनीहरुसँग भलाकुसारी गर्दै शुक्रराजले त्यसको क्षेत्रको विकासका लागि आफु दत्तचित्त भएर लाग्ने वचन दिए । ‘यो क्षेत्रसँग मेरो आत्मियता धेरै पहिलेदेखिको हो । र, यस क्षेत्रको विकासका लागि मैले कुनै कसर बाँकी छाड्ने छैन ।’ शुक्रराजले मतदातामाझ भने ।
घाचोकको लम्सालथर र लाहाचोकको भिरकटेरामा घरदैलोपछि उनी लाहाचोककै ठुलोपाटन भन्ने स्थानमा पुगे । त्यहाँ आयोजिता चुनावी आमसभामा बोल्दै उनले जनताको अधिकारका लागि ऐतिहासिक परिवर्तनको अगुवाई गरेको काँग्रेसले अब विकास र सम्बृद्धिको अगुवाई पनि गर्ने दाबी गरे । ‘काँग्रेसको यो ईतिहासलाई नबिर्सि सम्बृद्धिको बाटोमा देशलाई लम्काउनका लागि नेपाली काँग्रेसलाई मतदान गर्न म अनुरोध गर्दछु ।’ शर्माले भने । उनले विकासको सबै सम्भावनालाई सम्बोधन गरेर अगाडि बढ्ने लक्ष्यसहित आफुले उम्मेदवारी दिएको दाबी समेत गरे ।
त्यस्तै कास्की क्षेत्र नम्बर ३ क मा प्रदेशसभाका लागि उम्मेदवारी दिएकी शारदा पौडेलले समग्र क्षेत्रको विकासमा आफ्नो योगदान रहने बताईन् । उनले लाहाचोक, घाचोस क्षेत्रको समस्यालाई आफु निर्वाचित भएसँगै सम्बोधन गर्ने कुरा दोहो¥याईन् । ‘यो क्षेत्रमा प्रशस्त सम्भावनाहरु छन् । र, ती सम्भावनालाई मैले आफ्नो गुरुयोजनामार्फत मुर्तरुप दिनेछु ।’ उनले भनिन् ।
चुनावी आमसभालाई नेपाल शिक्षक संघका जिल्ला सदस्य विदुरचन्द्र ढकालले संचालन गरेका थिए । स्थानिय काँग्रेस नेता खुशीमान गुरुङले स्वागत गरेको कार्यक्रममा माछापुच्छ« गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विरेन्द्र गुरुङले पनि बोलेका थिए । सोहि कार्यक्रममा यसअघि अखण्ड नेपालसँग सम्बन्धित व्यक्तिहरुलाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।
गाऊँको विकास प्राथमिकतामा : शिकन्दर
काँग्रेसबाट कास्की क्षेत्र नम्बर ३ प्रदेश ख बाट उम्मेदवारी दिएका शिकन्दरकुमार गुरुङ ‘भोजबहादुर’लाई कास्कीकोटबासीले खानेपानी, स्वास्थ्य र सडकको स्तरोन्नतीका लागि सुझाएका छन् । घरदैलोको क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट पुगेका उनलाई त्यहाँका मतदाताले भोट दिएर जिताउने प्रतिबद्धता जनाउँदै पुर्वाधार विकासमा जोड दिन आग्रह गरेका हुन् ।
महानगर भएपनि केहि पिछडिएको कास्कीकोटका मतदाताको गुनासो सुनिसकेपछि शिकन्दरले आफु त्यसप्रति प्रतिबद्ध रहेको बताए । ‘शहरको विकाससँगै ग्रामिण भेगको विकासलाई पनि मैले प्राथमिकतामा राखेको छु ।’ उनले भने–‘यस क्षेत्रको मतदाताको मागलाई मैले मनमा लिएर काम गर्नेछु ।’
शिकन्दरले शुक्रबार पामेबाट घरदैलो कार्यक्रम शुरु गरेका थिए । घरदैलोको क्रममा उनी लौरुक, चिलमडाँडा, रैकर, गुन्टेचौर, खोरियापानी लगाएतका स्थानका मतदाताको घरदैलोमा पुगेका थिए ।

