सरकारी विद्यालयको गुणस्तरीयताप्रति राज्य गम्भीरः मन्त्री यादव, रोटरीद्वारा ४४ विद्यालयलाई २ सय ल्यापटप प्रदान

Share:

रञ्जन अधिकारी पोखरा, २६ साउन । शिक्षा मन्त्री चित्रलेखा यादवले सरकारी विद्यालयको गुणस्तरीयताप्रति राज्य गम्भीर रहेको बताएकी छिन् । उनले शिक्षालाई प्राथमिकतामा राख्दै नतिजा सुधार गर्नेतर्फ आफू लागि परेको दाबी पनि गरिन् ।

पोखरामा सोमबार भएको रोटरी कम्प्युटर एजुकेशन प्रोजेक्ट हस्तान्तरण समारोहकी प्रमुख अतिथि यादवले भौतिक तथा शैक्षिक पूर्वाधारलाई कारण देखाएर विद्यालय व्यवस्थापन तथा शिक्षक पन्छिएमा झनै चिन्ताजनक अवस्था आउने बताईन् । उनले दरबन्दीको अभाव, पूर्वाधारको कमी भएका विद्यालयले पनि शतप्रतिशत नतिजा हासिल गर्न सकिरहेको आफूले पाएको भन्दै व्यवस्थापन, शिक्षक, विद्यार्थी र समाज एकजुट भएर लागेमा यो सम्भव भएको पनि बताईन् ।

मन्त्री यादवले औपचारिक शिक्षालाई मात्र शिक्षा नबुझ्न आग्रह गर्दै जीवन पर्यन्त शिक्षा नै शिक्षा भएको बताईन् । ‘दक्ष, असल र सुसंस्कार जनशक्ति जसले देशलाई माया गर्छ । देशकै सेवा गर्छ । हामी यस्तो जनशक्ति तयार पार्न लागिपरेका छौं ।’ मन्त्री यादवले भनिन् । पाँचदेखि १७ वर्ष उमेर समूह अत्यन्त महत्वपूर्ण रहेकाले यो समयमा अभिभावक, विद्यालय र समाजले बच्चाहरुको सिकाईलाई प्रभावकारी बनाउन सके ती बालबालिकाहरु असल भएर निस्कने बताईन् ।

उनले रोटरीको काम शिक्षा क्षेत्रमा रहेकाले खुशी प्रकट गर्दै कतिपय विद्यालयमा कम्प्युटर भएर पनि विद्यार्थीको पहुँचदेखि टाढा रहँदा उपलब्धी हासिल हुन नसकेको बताईन् । ‘भित्र कम्प्युटर राखेर बाहिर ताला लगाईन्छ ।’ उनले प्रश्न गरिन् – ‘विद्यार्थीहरुलाई के उपलब्धी भयो त ?’ शिक्षाका लागि रोटरी मात्रै होईन सबै जिम्मेवार भएर अघि बढ्न उनले आग्रह गरिन् ।

सो अवसरमा विभिन्न जिल्लाका ४४ विद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको थियो भने गुरु आनन्द फाउण्डेशनले तीन विद्यालयलाई १० लाख बढि रकम हस्तान्तरण गरेको थियो । फाउण्डेशनले ज्ञानभूमि निमाविलाई पाँच लाख, एल एञ्जल स्कूललाई ३ लाख ८२ हजार र कन्या स्कूललाई दुई लाख प्रदान गरेको हो ।

यस्तै, प्रोजेक्टले कास्की सहित गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत र बाग्लुङका विभिन्न विद्यालयलाई एक करोड बराबरको कम्प्युटर सामाग्री प्रदान ग¥यो । कास्कीको घान्द्रुक र धम्पुसका सबै विद्यालयहरुमा यसअघिका दुई चरणमा कम्प्युटर वितरण गरिएकोमा सोमबारको हस्तान्तरणसँगै लुम्ले, दाङसिङ र धिताल गाविसका सबै विद्यालयमा कम्प्युटर पुगेको कार्यक्रम संयोजक जगनबहादुर गुरुङले बताए । तेस्रो चरणसम्म प्रोजेक्टले ६० भन्दा बढि विद्यालयलाई चार सय थान कम्प्युटर प्रदान गरेको छ । यो चरणमा कम्प्युटर पाउनेमा २० प्रावि, १६ मावि र ८ निमावि रहेका छन् । साथै, सबै विद्यालयका कम्प्युटर शिक्षकलाई प्रशिक्षणको व्यवस्था गरिएको र तीन वर्षसम्म मर्मत समेत गरिदिने संयोजक गुरुङले बताए ।

रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२, भुटान–नेपाल अन्तर्गतको रोटरी क्लब अफ पोखरा र ताईवानको ९ ओटा क्लबको संयुक्त अभियान रोटरी कम्प्युटर एजुकेशन प्रोजेक्ट हस्तान्तरण कार्यक्रममा गुरु पण्डितानन्द, पाष्ट डिष्ट्रिक्ट गभर्नर योगेन्द्रमान प्रधान, रोटरी क्लब अफ पोखराका पूर्व अध्यक्ष सुन्दर कुमार श्रेष्ठ र कार्यक्रम संयोजक जगनबहादुर गुरुङले बोलेका थिए । अध्यक्ष मोहनसिंह खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन राजेन्द्र लिगलले गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: