
पोखरा, २९ साउन/वरिष्ठ गायक तथा संगीतकार सरोजगोपाल बज्राचार्यको ६४ वर्षका उमेरमा विहीबार बिहान निधन भएको छ । पोखरा–१, बगरस्थित आफ्नै घरमा बज्राचार्यको निधन भएको हो । उनी लामो समयदेखि मधुमेहको रोगले थलिएका थिए ।
बुधबार बेलुकी खाना खाईवरी घरमा सुतेका उनी बिहान अबेरसम्म नउठेपछि परिवारले कोठामा उठाउन जादा मृत भेटिएको कवि तीर्थ श्रेष्ठले जानकारी दिए । ‘बेलुकी ९ बजेसम्म टोलको मिटिङ सकेर घरमा गएका थिए । तर बिहान ८ बजेसम्म पनि नउठेपछि बोलाउन जाँदा मृत भेटिए’ उनले भने, ‘चिकित्सकले राती तीनब जे नै मृत्यु भएको भन्दै परिवारलाई जानकारी दिएका छन् ।’
बज्राचार्यका ‘देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो झिल्केले, करोडौ मुटुहरुको ढुकढुकी नेपाल लगायतका चर्चित गित गाएका छन् । उनी लामो समयसम्म पोखराका सञ्चारमाध्यमा समेत काम गरेका थिए । बज्राचार्यले रेडियो नेपाल तथा पोखराको माछापुच्छे« एफएममा काम गरेका थिए । उनका एक छोरा, एक छोरी र एक श्रीमती छन् । धर्मपत्नी वरिष्ठ गायिका वावा राणा हुन् ।
उनको पोखरा शवयात्रा सहित पोखराको गाईघाटमा दाहासंस्कार गरिएको छ । पोखराको बागबजारबाट निकालिएको शव यात्रा विन्ध्यवासिनि, मोहरीया टोल, बालमन्दिरचोक हुदै नदिपुरस्थित धर्मशिला विहारमा श्रद्धाजलीका लागी केहीबेर राखेर भिमसेनटोल, नयाँ वसपार्क बगर हुदै सेती नदी किनार गाईघाटमा अन्त्येष्टि गरिएको थियो । शव यात्रामा पोखरेली संगीतकर्मी, साहित्यकार, कलाकार, ब्यवसायी, पत्रकार र सर्वसाधारणको सहभागीता रहेको थियो । वर्षाको पर्वाह नगरि पोखरेलीले शव यात्रामा सहभागीता जनाएका थिए । उनको शवमा छोरा फिरोजराज बज्राचार्यले दागबत्ती दिएका थिए ।
Photo: Facebook

