फेवाताल छेउको रेष्टुरेन्ट पहिरोले बगायो, ३ को मृत्यु , १ बेपत्ता

Share:

गोकुल वानियाँ पोखरा ९ भदौ । पोखराको फेवाताल किनारमा रहेको एउटा रेण्टुरेण्ट पहिरोले बगाउदा ३ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन्  कास्कीको पुम्दीभुम्दी– १ स्थित फेवातालको किनारमा सञ्चालित टिपिकल रेष्टुरेण्ट एण्ड लज आईतवार राति पहिरोले बगाउदा त्यहा कार्यरत ३ जनाको ज्यान जानुको साथै एक जना बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएका मध्य ओखलढुङ्गा गामलाङटारका २८ बर्षिय प्रकाश मगर, धादिङ कल्लेरीका २२ बर्षिय राम मगर र सिन्धुली आङसाङ–९ का १८ बर्षिय मोहन मगरको शब फेला परेको प्रहरी उपरिक्षक बसन्त कुमार लामाले जानकारी दिए । रेष्टुरेण्ट सञ्चालक रामेछाप सैवु ६ का गोकुल मगरका भाई १८ बर्षिय भुवन मगरको अवस्था भने अज्ञात रहेको छ । उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परेकाको उद्धारको लागि प्रहरी, शसस्त्र, नेपाली सेना तिन ओटै सुरक्षा फौजका सय भन्दा धेरै खटिएका छन् । ताल पारी रहेकाले घटनास्थलसम्म उद्धार टोली आवातजावतको लागि शसस्त्र प्रहरी र नेपाली सेनाको मोटरबोट प्रयोग गरिएको छ । तालको करिब ५ मिटर मात्रै दुरीमा स्थानिय बत्तीबहादुर गुरुङ्गले बनाएको घरमा मगरले बिगत ८ बर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । पहिरोबाट ३ कामदार सहित भाई गुमाएका उनले आफ्नो मात्रै झण्डै ७० लाख रुपैयाँको क्षति भएको बताएका छन् ।

शान्ति स्तुपा भन्दा मुनीबाट आएको पहिरोले रेष्टुरेण्टका कतिपय संरचना तालमा डुवाएको छ । घटना राति भएपनि बिहान मात्रै जानकारीमा आएको प्रहरीले जनाएको छ । होटल सञ्चालक गोकुल मगर भने राति तालवारी रहेकाले बाच्न सफल भएका छन् । बर्षाको समयमा पानी बग्ने खोल्सी अतिक्रमण गरी ताल किनारमै संभाबित जोखिमको ख्यालै नगरी संरचना बनाएकाले यति ठुलो क्षति भएको स्थानियले बताएका छन् ।

आईतवार रातिको भिषण बर्षाको कारण पुम्दीभुम्दी गाविसको वडानं १ मै माथिबाट आएको पहिरोले घर पुरिदा तीन जना घाइते भएका छन् । पहिरोमा परी १४ वर्षका कवि गुरुङ , प्रणेश गुरुङ र १८ वर्षका सुर्य गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । घाइतेहरुको पोखराको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै पोखरा उपमहानगरपालिका – ६ बुलौदी स्थित स्थानिय बुलौदी खोला किनारको जमिन भासिदा दुई ओटा घर जोखिममा परेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: