पोखरा विमानस्थल तोकिएको भन्दा छ महिना अघि सकिन्छ:मन्त्री अधिकारी

Share:

पोखरा,२८ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघि निर्माण सम्पन्न हुने बताएका छन् । जनकल्याण क्लवद्धारा पोखराको काहुँडाँडामा आयोजना गरिएको तेश्रो काहुँ धरहरा महोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भएको कारण सन २०२१ को शुरुदेखिनै सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएसंगै पर्यटनको विविधिकरण अपरिहार्य रहेको उल्लेख गर्दै उनले सम्माव्यता अध्ययन गरि आवश्यक भौतिक पूर्वाधार तयार गर्न व्यवसायिलाई आग्रह गरे । एघार महिनाको अवधिमा हवाई जहाजबाट ११ लाख र सडक यातायातबाट १२ लाख गरि कुल २२ लाख पर्यटक नेपाल आएको तथ्याङ्क उल्लेख गर्दै उनले मुलुकले सन २०२० सम्ममा लगभग २५ लाख र २०३० को अवधिमा ५० लाख भन्दा बढी पर्यटक भित्र्याउने आधार तयार भएको बताए ।

मुलुकको आर्थिक विकास समृद्धिका लागि पर्यटन महत्वपूर्ण क्षेत्रको रहेको बताउँदै अधिकारीले अवको पर्यटन कृषकले उत्पादन गरेको वस्तुको मूल्य र बजारीकरण सहित रोजगार सिजर्ना गर्ने खालको हुनु पर्नेमा जोड दिए । वर्तमान सरकार आर्थिक विकास र समृद्धिका लागि कृयाशिल रहेको बताउँदै मन्त्री अधिकारीले स्थानीय, प्रदेश र संघीय सरकार जनताको सेवामा समर्पित रहेको उल्लेख गरे । “काहुँ दृष्यावलोक एक गन्तव्य” भन्ने मूल नारा सहित आयोजित महोत्सव पुस ८ गतेसम्म सञ्चालन हुने महोत्सव व्यवस्थापन समितिका संयोजक दिपकप्रसाद आचार्यले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: