
१ पुस,पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १४ को कार्यालयमा चोरी भएको छ। मझेरीपाटनमा रहेको वडा कार्यालयमा बिदाको दिन शनिबार चोरी भएको हो ।कार्यालयबाट २ थान ब्राण्डेड कम्प्युटर चोरी भएको वडा कार्यालयका सचिव अर्जुन पौडेलले जानकारी दिए । चोरी भएको सामानको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ ।
आईतबार बिहान कार्यालय सहयोगीले कार्यालय खोल्ने क्रममा चाबी फोडिएको देखेपछि चोरी भएको पत्ता लागेको हो । कार्यालयले आइपिटी सेवा भर्खरै मात्र सुरू गरेको र राजश्व उठाउन सुरू भएको हुँदा पैसाको लागि चोरी भएको हुन सक्ने शंका गरिएको छ ।
कार्यालयमा रहेका अन्य सामान भने सुरक्षित रहेको भए पनि दराज,टेवलको घर्राहरू सबै खानतलास गरी रकम नभेटे पछि २ थान कम्प्युटर चोरी गरेको हुन सक्ने अनुामन छ । चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ । पोखरामा केहि समय यता चोरीका घटना बढ्दै गएको छ । केही दिन अघि पोखराका केही सुन पसल र मोबाईल पसलमा पनि चोरी भएको थियो ।
