फेरि साक्षर नेपाल अभियान, आगामी २ वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य

Share:

काठमाडौं- सरकारले पुनः साक्षरता अभियान सुरु गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले ‘साक्षर नेपाल वर्ष २०७६’ को अवधारणा स्वीकृत गरिसकेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा आगामी २ वर्षभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष्य अनुृसार यही पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले आउँदो वर्ष २०७६ लाई अभियान वर्षका रुपमा घोषित गरेको हो । पारित साक्षर नेपाल अभियानको अवधारणामा हरेक एकले अर्को एक निरक्षलाई पढाउने (एच वान, टिच वान) लगायतका कार्यक्रम रहेका छन् ।

करिब ३ लाख निरक्षर जनसंख्यालाई साक्षर बनाउने योजनासहित सरकारले यो अभियान अघि बढाएका हो । अभियानले १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी वि.सं.२०७६ भित्रमा साक्षर नेपाल घोषणा र सबै नेपाली नागरिकका लागि जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने लक्ष्य लिएको छ ।

अवधारणमा साक्षर सिकाइको इच वान टिच वान, समूह प्रणाली, परिवार र कक्षागत प्रणाली गरी ४ प्रकारको ढाँचामा छ । इच वान टिच वान ढाँचा अनुसार समुदायमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने भने समूह प्रणालीमा समुदायमा कुनै समूहका आबद्ध रहेका निरक्षरलाई सो समूहको पहलमा साक्षर गराउने रहेको छ ।

यस ढाँचा अन्तर्गत सहजकर्ताले धान्न र सिकारुले सिक्न सक्ने सहभागी रहने सक्नेछन् । परिवार साक्षरतामा आफ्नो परिवारमा रहेका निरक्षर व्यक्तिलाई परिवारकै साक्षर व्यक्तिको पहलमा साक्षर गराउने अवधारणमा उल्लेख छ । कक्षागत प्रणालीमा सञ्चालक संस्थाबाट नियुक्त र तालिमप्राप्त सहजकर्ताबाट समुदायमा रहेका निरक्षरहरुलाई जम्मा गरी निश्चित संख्यालाई कक्षामा राखेर सिकाउने ।

यस प्रणालीअन्तर्गत हिमाली जिल्लामा प्रतिकक्षा १५ जना, तराई, पहाड र उपत्यकामा २० जना सहभागी रहन सक्नेछन् । सिकाइ समयाधि ४ महिनाभित्र दैनिक २ घण्टाका दरले वा हप्तामा ६ दिन वा सहभागीको अनुकूलतामा १ सय ५० देखि २ सय घण्टासम्म रहनेछ ।

सरकारी आँकडाअनुसार वि.सं.२०७५ असारसम्ममा मुलुकका ७७ मध्ये ४७ जिल्ला साक्षर घोषित भइसेका छन् । संघ, प्रदेश र स्थानीय तहले कार्ययोजना बनाई अभियान सञ्चालन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: