डा. केसीको समर्थनमा पोखरामा दबाबमूलक प्रदर्शन जारी, ‘सरकार सहमति कार्यान्वयन गर’

Share:

चिकित्सा शिक्षा सुधारको माग राखी १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा पोखरामा दबाबमुलक कार्यक्रम जारी छ । मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) चोक पोखरामा दबाबमूलक कार्यक्रम गरिएको छ ।

सोलिडारिटी फर डा केसीले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका बुद्धिजीवी, युवा तथा नागरिक अगुवाको सहभागिता थियो । यसअघि, शनिबार पनि मानवअधिकार चौतारा चिप्लेढुङामा जम्मा भएर कालो ब्यानरसहित प्रदर्शन गरेका थिए ।

मंगलबारको कार्यक्रममा स्वास्थकर्मी जिता बराल, विकास थापा, राम गुरुङ, सौगात पोखरेल, माधव पहारी, सुनिल पाण्डे, डा. वसन्त गौतम लगायतले प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गरे । विश्व सिग्देल, महेश भण्डारी लगायतका अगुवाको पनि कार्यक्रममा सहभागिता थियो ।

प्रदर्शनका सहभागीले ‘तीन करोड नेपालीलाई धोका दिने कहिलेसम्म ?’, ‘सरकार जनताको हो कि माफियाको’, ‘माफियामुखी ऐन चाहिँदैन’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायब भयो’, जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यसैबीच, चिकित्सा शिक्षा सुधारको माग राखी १४ दिनदेखि अनशनरत डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालको जनरल वार्डबाट अनशनस्थल सरेका छन् । इलाममा १६ औं चरणको अनसन सुरु गरीे शिक्षण अस्पताल महाराजगञ्जको आइसियूबाट जनरल वार्डमा सारिएकोमा केसी मंगलबार बिहान ११ बजे अघिल्लो पटक अनशन बसेको ठाउँ गणेशमान सिंह स्मृति नाक, कान, घाँटी भवनमा सरेका छन् ।

जनरल वार्डमा अरु बिरामीलाई असुविधा भएको भन्दै डा. केसीले सार्ने माग गरेका थिए । स्वास्थ्य शिक्षा र सेवामा सुधारको माग राख्दै आन्दोलनरत डा. केसीले गत पुष २५ देखि इलामबाट १६ औंसत्याग्रह सुरुगरेका थिए। डा. केसीलाई गत बिहीबार राति नाइट भिजन हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

संसद् भवन अगाडिबाट २१ जना प्रदर्शनकारी पक्राउ

प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका २१ जना सदस्यहरु मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट पक्राउ परेका छन् ।

वाइड बडी खरिदमा संसदलाई ढाटेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न र वाइड बडी जहाज ल्याउँदा भएको भ्रष्टाचारमा संलग्न मुख्य दोषीहरुलाई कारबाही माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रहरीले प्रदर्शनमा उत्रिएका समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाईँ, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल र केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर परिसरमा राखिएको छ । प्रदर्शनमा उत्रेका अधिकारकर्मीले ’ठूला नेता मिलेका, साढे चार अर्ब निलेका’, ’दुईतिहाइ सरकारको उपहार, साढे चार अर्ब भ्रष्टाचार’, डा केसीसँगको सहमति कार्यान्वयन गर, ’जहाज खरिद भ्रष्टाचार स् मुख्य दोषीहरुलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

‘तीन करोड नेपालीलाई धोका दिने कहिलेसम्म ?’ डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

कमेन्ट गर्नुहोस्
Share: