पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित,मनाङमा भारी हिमपात

Share:

९ माघ,पोखरा । पश्चिमी वायुको प्रभावले मंगलबार देखी भईरहेको मौसम बद्लीका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायु सक्रिय रहेर धेरै ठाउँमा पानी परेपनि भोलि(बिहिबार) मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि मौसम सफा भएपनि पर्सी बिहानदेखि फेरि पश्चिमी वायुको प्रभाव भित्रिने मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।

मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएको थियो । उनका अनुसार पर्सी(शुक्रबार)देखि फेरि देशैभरको मौसम बदली हुने र अधिकांश ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

हिमाली जिल्ला मनाङमा भारी हिमपात

यता गण्डकी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा ठूलो हिमपात भईरहेको छ । मंगलबार दिउँसोदेखि प्रदेशको हिमाली जिल्ला मनाङमा भारी हिमपात जारी रहेको छ । मनाङको तल्लो क्षेत्रमा भन्दा माथिल्लो क्षेत्रमा बढी हिमपात भएको स्थानीयले बताएका छन् । हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मनाङ पुग्ने पर्यटकसमेत हिमपातका कारण अलपत्र परेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कर्मचारी ब्रिज गुरुङले हिमपातका कारण पर्यटकहरु गन्तब्यमा जान रोकिएको बताए ।केही दिन अघिसम्म हिउँ पग्लेर काला देखिएका मनाङ र लमजुङका हिमाल हिउँले ढाकिएका छन् । हिमपात भएपछि किसान भने खुसी देखिएका छन् । सामान्य वर्षासँगै गोरखाका विभिन्न स्थानमा पनि हिउँ परेको छ ।

गोरखा हिमपातका तस्बिर:::

कमेन्ट गर्नुहोस्
Share: