
फागुन ७, पर्वत । पर्वतको मोदी गाउँपालिकामा रहेको रति खोलाको दोहन हुँदा पनि बेवास्ता गरेको भन्दै गाउँपालिका अध्यक्षसहित कर्मचारीविरुद्ध उजुरी परेको छ । रतिखोलाको न्यूरेनी बगरमा ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य वस्तुको उत्खनने अवैध भएको र उत्खननमा पनि चरम लापरबाही भएको भन्दै स्थानीय लोकेन्द्रजंग लामिछानेले उच्च अदालत पोखरामा मुद्दा दायर गरेका छन् ।
उनले गाउँपालिका प्रमुख प्रेम पौडेल, प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सन प्रालिका सुरेश सुवेदीलाई विपक्षी बनाएर अदालतको बाग्लुङ इजलासमा मुद्दा दायर गरेका हुन् ।
लामिछानेले विल्ड वेल कन्सट्रक्सन प्रालिले सम्झौतामा उल्लेखित नियमको उल्लघंन गर्दै दोहनलाई तिव्र पार्दा समेत सम्बन्धित निकायहरुले बेवास्ता गरेको भन्दै उजुरीमा उत्प्रेषणयुक्त परमादेश माग गरेका छन्।
यसअघि रतिखोला दोहनको विषयमा स्थानीयको चौतर्फी विरोधपछि जिल्ला समन्वय समिति पर्वतले नियम विपरीत कार्य गरेको भन्दै जरिवाना गरेको थियो । तर कन्सट्रक्सनले तोकिएको ठाउँ भन्दा अन्यत्र ठाउँमा समेत ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य वस्तुको उत्खनन् गरिरहेको छ ।
सम्झौतामा श्रमीक लगाउँदै घरेलु औजारको प्रयोग गरेर मात्र नदीजन्य पदार्थ निकाल्न सकिने उल्लेख गरिएको भए पनि कन्सट्रक्सनले भने डोजर र एक्साभेटर प्रयोग गरिरहेको छ।
