आहा ! रारा गोल्ड कप : नवयुगको दुई गोलसँगै आर्मी सेमिफाइनलमा, भोली थ्री स्टार र युनाइटेड सिक्किम भिड्ने

Share:

पोखरा, फाल्गुन १२ । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा शेर्पालाई ३–१ ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफमा एक गोलले पछि रहेको आर्मीले खेलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

२७ औं मिनेटमा त्रिदेव गुरुङको पासमा शेर्पाका विदेशी खेलाडी प्याट्रिक गोहाले सुरुवाती गोल गरेका थिए । तर, शारीरिक रुपमा बलिया रहेको आर्मीलाई शेर्पाले दोस्रो हाफमा रोक्न सकेन ।

प्रतिस्पर्धात्मक खेलको ७१ औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा गोल गर्दै नवयुग श्रेष्ठले खेल बराबरीमा पुर्याए । ८० औं मिनेटमा नवयुगले व्यक्तिगत गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई ३–१ को जित दिलाए । कप्तान भरत खवासको शक्तिशाली प्रहारलै शेर्पाका गोलरक्षक किशोर गिरीले विफल पारेपनि रिवाउन्डमा जर्जप्रिन्स गोल गर्न सफल भएका हुन् ।

दुई गोल गरेका आर्मीका श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार नगद सहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा सोमबार रुस्लान थ्री स्टार क्लब र युनाइटेड सिक्किम भारतबीच खेल हुने आयोजक जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
Share: