आहा ! रारा गोल्ड कपको फाइनल खेल आज, उपाधी उचाल्ने होडमा आर्मी र थ्रि स्टार

Share:

पोखरा, फागुन १८। सहारा क्लब पोखराद्वारा आयोजित १७ औं संस्करणको आहा ! रारा गोल्ड कपको फाइनल खेल आज हुँदैछ । नेपाली फुटबलका दुई हस्ती क्लबहरु रुस्लान थ्रि स्टार र त्रिभुवन आर्मी उपाधीका लागि फाइनलमा भिड्दै छन ।

खेल दिउँसो दुई बजेपछि पोखरा रंगशालामा सुरु हुनेछ । यस अघि पाँचौ, नवौं, ११ औं र १३ औं संस्करणको विजेता र १६ औं को उपविजेता रही सकेको थ्रि स्टार र सातौ, आठौं र १४ औं को उपविजेता रहेको त्रिभुवन आर्मीको भिडन्त रोमाञ्चपूर्ण हुने अनुमान गरिएको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै थ्री स्टार फाइनल प्रवेश गरेको हो । यस्तै बिहिबार भएको दोस्रो एवं अन्तिम सेमिफाइनलमा दाफिन्स फुटबल क्लबलाई १-० ले हराउदै आर्मीले थ्रि स्टारसंगको भेट पक्का गरेको हो।

प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले स्कुटर पाउने छन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

(तस्बिर- रुस्लान थ्रि स्टार (बायाँ) र त्रिभुवन आर्मीका प्रशिक्षक र टिम कप्तान प्रतियोगिताको उपाधी सहित शुक्रबार पोखरा रंगशालामा )

कमेन्ट गर्नुहोस्
Share: