फेवातालमा मृत भेटिएकी दिव्याको ज्याकेटमा कागजको टुक्रा टेपले बेरेको अवस्थामा …

Share:

बिग न्यूज पोखरा, १९ फागुन । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. २ ढिकुरपोखरी घर भएकी दिव्या अधिकारी पोखरा महानगरपालिका वडा नं. ४ सिद्धार्थचोक बसेर यहाँ पढ्दै आएकी थिईन् । नर्सिङकी विद्यार्थी उनी आइतबार बिहानै फेवातालमा तैरिरहेको अवस्थामा मृत भेटिइन् । स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर ग¥यो । वडा प्रहरी कार्यालय बैदामको टीम घटनास्थल पुग्यो ।

एकाबिहानै १९ वर्षीया किशोरीको शव भेटिएपछि धेरैले हत्या नै भएको हो कि ? आशंका गरे । तर, प्राप्त प्रमाणले भने हत्या नभई आफै हामफालेको देखिएको श्रोत बताउँछ । उनले चढेको स्कुटर नजिकै थियो । चाबी पनि स्कुटरमै थियो । डिक्कीमा पर्स, रेनकोट मिलाएर राखेको भेटिएको थियो । परिवारले भने पेट्रोल हाल्नुछ भन्दै निस्किएको बताएका छन् ।

ज्याकेट र पाइन्ट लगाएकी दिव्याको ज्याकेटको खल्तीमा सानो कागजको टुक्रा भेटिएको छ । जसलाई उनले टेपले बेरेर राखेकी थिईन् । टेप उप्काएर हेर्दा त्यहाँ फोन नम्बर भेटियो । जुन फोन नम्बर उनको अंकलको भएको श्रोतले बतायो ।

दिव्याको कोठामा पाना च्यातिएको कापी र ज्याकेटको खल्तीमा भेटिएको कागज आपसमा मिलेको भेटिएकाले उनले आफै ज्यान फालेको निश्कर्षमा प्रहरी पुगेको छ । तर, अंकलको नम्बर किन लेखिन् ? प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । प्रारम्भिक अनुसन्धानमा आफ्नो शव पहिचानमा परिवारका सदस्य भेटिन सहयोग पुग्ने ठानेर अंकलको नम्बर नभिज्ने तबरले टेप लगाएर फेवातालमा हाम्फालेको हुनसक्ने अनुमान छ ।

उनले एकाबिहानै किन यस्तो गरिन् ? प्रहरी अनुसन्धानमै छ । यस विषयमा हालै बैदाम प्रहरी कार्यालयको नेतृत्व सम्हालेका डिएसपी कोमल शाहलाई सम्पर्क गर्दा शव उठाएर लगेपछि जिल्लाले नै हेरेको भन्दै यस विषयमा पछि आफूलाई थाहा नभएको र प्रवक्तासँग सम्पर्क गर्न सुझाए । कास्की प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङलाई सम्पर्क गर्दा फोन उठेन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम गरिएको र आफन्तले बुझेको डिएसपी शाहले बताए ।

सोलो प्यारापाइलटको फेवातालमै मृत्यु

फेवातालमा आईतबार नै प्याराग्लाईडिङ दुर्घटना हुँदा घाईते भएका रोमानियाली नागरिकको मृत्यु भयो । ब्लु स्काई प्याराग्लाइडिङबाट उडेका ४२ वर्षीय सोलो पाइलट एबे चिस जेर ल्याण्डिङको क्रममा सन्तुलन गुमाउँदा फेवातालमा खसेका थिए । मेट्रो सिटी हस्पिटल पुग्ने बित्तिकै मृत घोषणा गरिएको थियो । उनीहरु नौ जनाको समूहमा रहेको र दिनहुँ अभ्यास गरिरहेको प्रहरी बताउँछ ।

कमेन्ट गर्नुहोस्
Share: