
स्याङ्जा । घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका-३ घर भई फेदिखोला गाउँपालिकास्थित इलाका हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत ४४ वर्षीय महेन्द्र नेपाल र निजकै श्रीमती ४० वर्षीया सङ्गीता नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल दम्पतीले पुतलीबजार नगरपालिका-३ मा महेन्द्र नेपालको नाममा रहेको घरजग्गा पास गरिदिने प्रलोभन देखाई आठ जनाबाट विभिन्न मितिमा रकम लिएको र देखाएको जग्गा अर्कैको नाममा राजीनामा पास गरी ठगी गरेको पाईएको थियो ।
पीडित मञ्जु गोदार तथा अन्यले प्रहरीमा किटानी जाहेरी दिएसँगै प्रहरीले दम्पतीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दम्पतीले विभिन्न मितिमा स्याङ्जाको फेदिखोला गाउँपालिका-२ की मञ्जु गोदारबाट रु पन्ध्र लाख, सावित्री दर्जीबाट रु तीन लाख ३० हजार ठगी गरेको पाईएको छ ।
त्यस्तै उनीहरुले चुनुमाया गोदारबाट रु तीन लाख ५५ हजार, वेदप्रसाद गौतमबाट रु तीन लाख, कृष्ण महत थापाबाट रु चार लाख ६० हजार, दुर्गाकुमारी खत्री खड्काबाट रु सात लाख, रुकुमको मुसिकोट नगरपालिका-१ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-८ मा डेरा गरी बस्ने रेशम रावलबाट रु दुई लाख ७५ हजार गरी रु कूल ३९ लाख २० हजार लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पक्राउ परेका दम्पतीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताईएको छ ।
