
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भइन्। ०६३ चैत १३ गते जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीमै छोरी जन्माएकी हुन्।
आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै भएको थियो। स्वास्थ्य संस्था नै नपुगी उनले माइतीको छाप्रोमै बच्चा जन्माएकी हुन्।
गर्भ रहेको ९ महिनामा सुत्केरी भएकी भावना र उनकी छोरी पूर्णिमा अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा छ। शरीर सुन्निएर भावनालाई ज्वरो आएको छ।
गाउँकै सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १४ वर्षीय नन्दबहादुर रावतसँगको विवाहले भावनालाई कष्टपूर्ण अवस्थामा पुर्याएको हो।
एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ अर्कोतिर आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्नसमेत धौ धौ छ उनीहरूलाई। सुत्केरी अवस्थामा पाउनुपर्ने पोषिला खानेकुरा पाउनबाट समेत उनी वञ्चित भएकी छिन्। -अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
