
पोखरा । बहुप्रतिक्षित पोखरा रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम निर्माण गर्ने गरी स्टेडियमको शिलान्यास गरिएको छ। युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले एक कार्यक्रमका बीच स्टेडियमको शिलान्यास गरेका हुन्।
२०७६ को मंसिर महिनामा हुने १३ औं साग खेलकुदअन्र्तगत महिला फुटबल प्रतियोगिता पोखरामा संचालन गर्ने गरी २०७६ सालको असार महिनाभित्र फुटबल स्टेडियम निर्माण सम्पन्न गर्नगरी ठेकेदार कम्पनीसँग सम्झौता भइसकेको छ।
१८ हजार ५ सय क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम १ अर्ब २८ करोड २२ लाख १८ हजार १ सय ७४ रुपैयाँको लागतमा बन्ने भएको हो। फुटबल स्टेडियम एक्सपानसन गरेर ३० हजार दर्शकसम्म बस्न सक्ने क्षमताको बनाउन मिल्ने गरी निर्माण कार्य अघि बढेको छ।
ग्लोबल टेन्डरबाट फुटबल स्टेडियम निर्माणको जिम्मा ग्रेट स्पोर्टस इन्फ्रा प्रालि भारत र एम ए कन्स्ट्रकसन प्रालि जावलाखेलको संयुक्तरुपमा निर्माण गर्ने जिम्मा पाएका हुन्। अन्तर्राष्ट्रिय मापदण्डको स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचलाय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फ्रेन्स कक्ष लगायत रहने बताइएको छ ।
फुटबल मैदान फिफाले तोकेको मापदण्डको हुनुपर्ने छ। स्टेडियमलाई आधुनिक ल्फड लाइटसहित स्कोर वोर्ड, डिस्प्ले वोर्ड समेत हुनेछ।स्टेडियममा टेलिभिजनका ठूला स्क्रिन समेत जडान गरिने छन्।
शिलान्याश कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले निर्माण कम्पनीलाई समय सिमाभित्र फुटबल स्टेडियम निर्माण सम्पन्न गर्न सुझाव दिए। आगामी डिसेम्बर १५ देखि सुरु हुने साग खेलकुदलाई ध्यानमा राख्दै निर्माण कार्य सम्पन्न गर्न उनले निर्माण कम्पनीलाई सुझाव दिएका हुन्।
पोखरामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम बन्न लागेकोले निर्माण कार्यलाई गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्ने वातावरण बनाउन सघाउन सहभागीसँग अनुरोध गरे। पुरानो स्टेडियम भत्काएको १४ महिना पछि नयाँ फुटबल स्टेडियम निर्माणका लागि शिलान्यास भएको हो।
२०७४ को पुस महिनामा नयाँ स्टेडियम निर्माण गर्ने भन्दै रंगशाकाको पुराना स्टेडियम भत्काइएको थियो। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदका लागि निमार्ण गरिएको फुटबल स्टेडियम मर्मत संभारको अभावमा जीर्ण थियो।
फुटबल खेल संचालन गर्दा स्टेडियम नै भत्केर दुर्घटना हुने डरका बीच खेलकुद संचालन हुँदै आएकोमा नयाँ आधुनिक स्टेडियम निमार्णले पोखरा र नेपालकै खेलकुद विकासमा महत्वपूर्ण रहने विश्वास गरिएको छ।
Photo : Sudarshan Ranjit

