स्थानीय तह स्थापनाको दिन रुपा गाउँपालिकामा भलिबल, मुख्यमन्त्रीदेखि झाँकी प्रदर्शनीसम्म (फोटो फिचर)

Share:

पोखरा, २७ फागुन । तनहुँको भीमाद नगरपालिकाले रुपा गाँउपालिकाद्वारा आयोजित प्रादेशिक स्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा रुपाले आयोजना गरेको प्रतियोगितामा भिमादले स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई चौथो सेटमा पराजित गर्न सफल बनेको हो । रुपा गाउँपालिका वडा नम्बर ६ भीरचोकस्थित खेल मैदानमा सोमबार भएको फाईनलमा भीमादले काली गण्डकी गाँउपालिकामाथि १९–२५, २५–२३, २५–२१, २५–२२ को सेटमा पराजित गर्दै पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको हो ।

तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा घिरिङ गाउँपालिका तनहुँ विजयी भयो । पोखरा महानगरपालिका घिरिङसँग सोझो सेटमा पराजित हुन पुग्यो ।  पोखरा महानगरपालिका २५–१५, २५–२० र २५–२३ को सेटमा पराजित हुदैं चौथो स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक नारायण गुरुङले बताए ।  त्यस्तै, सान्तवना पोखराले पनि नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका १९ वटा स्थानीय तहहरुको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट भीमाद नगरपालिकाका खेलाडी निर्मल शाही ठकुरी घोषित भए । बेष्ट सर्भरको पुरस्कार घिरिङ गाउँपालिकाका मिलनचन्द ठकुरी घोषित भए ।

बेष्ट डिफेण्डर कालीगण्डकी गाउँपालिकाका पोलसिंह राना, बेष्ट ब्लकर भीमाद नगरपालिकाका मिलन राना, बेष्ट सेटरबाट भीमादकै दिवस आले, स्पाईकरबाट काली गण्डकी गाँउपालिकाका हरि पाण्डे र अनुशासित टोलीको पुरस्कार रुपा गाँउपालिका घोषित हुदैं पुरस्कार थाप्यो ।

उत्कृष्ठ खेलाडीले नगद ५ हजार र अन्य विधाका खेलाडीले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे । खेलकुदको माध्यमबाट युवाहरुको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्धेश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित भएको प्रतियोगितामा कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्री, पुर्व सांसद कृष्णबहादुर गुरुङ, पूर्व गाविस अध्यक्ष टिकाराम पंगेनी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय भलिबल टीमका क्याप्टेन इमबहादुर रानामगरलाई नगद २५ हजारले रुपा गाउँपालिकाले सम्मान पनि गरेको थियो । क्याप्टेन मगर रुपा वडा नं. ६ मोहोरिया निवासी हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा झाँकी प्रदर्शन पनि गरिएको थियो । प्रथम फेदी नेवाः सास्कृतिक गुठी रुपा ५, द्वितिय शान्ति रुपा वराहाथोक रुपा ६, तृतीय नेपाल कुमाल सुधार समाज सुधार रुपा ३ र सान्त्वना चिसापानी जलकुमारी आमा समूह हुन सफल भयो ।

‘गण्डकी प्रदेश जन्मिएको छैन, गर्भमै छ’ : मुख्यमन्त्री गुरुङ

सरकारले बिकास र समृद्धिको जग बसालिसकेको दाबी गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको सतही बिरोध नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

सोमबार रुपा गाउँपालिकामा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सरकारले अहिलेसम्म गरेका सबै काम सुरुवात मात्रै भएकाले बिकास भएन भनेर बिरोध गर्नुको औचित्य नभएको प्रस्टाएका हुन् ।

‘कसैले पनि सरकारले राम्रो काम ग¥यो भनेर भनेको मैले आजसम्म सुनेको छैन’ मुख्यमन्त्री गुरुङले भने, ‘जो मान्छे अलि जान्ने बुझ्ने जस्तो देखिनुहुन्छ उहाँहरुले नै जहिल्यै भन्नुहुन्छ, खै प्रदेश सरकारले काम गरेको रु अब बुझ्नुस । कोही मान्छेको पनि एक दिनमै जन्म हुँदैन । जो कोही पनि धर्तीमा झर्नका लागि नौ महिना आमाको गर्भमा बस्नै पर्छ ।’ गण्डकी प्रदेश सरकार पनि अहिले गर्भमै रहेकाले बिकास र मृद्धि यति छिटै नहुने मुख्यमन्त्री गुरुङको भनाई छ ।

‘मान्छे जस्तै हामि अहिले गर्भमै छौँ । यसको मतलब बिकास र समृद्धिको जगहरु खन्दै छौँ’ मुख्यमन्त्री गुरुङले भने, ‘अहिले हामी प्रदेशलाई आबश्यक योजनाहरु बनाउँदै छौँ । कानुनहरु बनाउँदै छौँ । अबको पाँच बर्षमा हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर पञ्चबर्षीय योजना, अबको १२ बर्षपछि हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर १२ बर्षीय योजना र अबको २५ बर्षपछि हामीले हाम्रो प्रदेशलाई कस्तो बनाउने भनेर २५ बर्षीय योजना बनाउँदै छौँ ।’

उनले थपे, ‘ती सबै कुराहरु तँपाई हामी सबैले प्रत्यक्ष रुपमा भोग्न पाउने कुरा हैन । तर, भोलिका लागि अहिल् हामीले कामको जग खन्नु पर्नेछ । भौतिक—पुर्वाधारको जग खन्नु पर्नेछ । निति नियमको जग खन्नु पर्नेछ । बिभिन्न योजनाहरुको जग खन्नु पर्ने छ । तसर्थ तँपाईहरुले हतार नगर्नु होला । हामिले काम गरीसकेपछि प्रदेश सरकारले गरेको बिकास कहाँ छ भनेर खोज्नु होला ।’

पाँच बर्ष भित्रै प्रदेशलाई सम्बृद्ध बनाउन सबै क्षेत्रमा भौतिक पुर्वाधार पु¥याउने उनको भनाई छ । ‘पाँच बर्ष भित्रै हामीले सबै जनताको घरघरमा खानेपानी बिजुली पु¥याउँछौँ । हरेक गाउँ गाउँमा सडक पु¥याउँछौँ । हरेक गाउँ गाउँमा स्वास्थ्य चौकी पु¥याउँछौँ र सबै जनताकोे आर्थिक बृद्धिदर बढाउँदै उनीहरुलाई धनी बनाउँछौँ ।’

उनले गाउँगाउँमा ज्येष्ठ नागरिक केन्द्र खुल्नुपर्ने पनि बताए । गाउँमा कृषि क्षेत्रमा विकासका लागि राम्रो योजना ल्याए आफूले सहयोग गर्ने उनको भनाई थियो ।

स्थानीय तह स्थापना दिवसको अवसरमा रुपा गाउँपालिकाले आयोजना गरेको प्रदेशस्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा समापन अवसरमा प्रमुख आतिथ्यता गर्दे उनले गाउँपालिका स्थानीय सरकार भएकाले जनताले सहज सुविधा पाउनुपर्ने बताए ।

सो अवसरमा रुपा गाउँपालिकाको लोगो पनि सार्वजनिक गरियो । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ८ लाख कर उठ्ने गाउँपालिकामा अहिल्यै तेब्बर उठिसकेको जनाउँदै अब यसलाई बढाउँदै लैजाने तर जनतालाई करको भार भने नथुपार्ने बताए । उनले यहाँकै स्रोत साधनको उचित सदुपयोग, जग्गा बाँझो राख्नेसँग बाहेक नागरिकलाई समस्यामा नपारेको बताए ।

 

कमेन्ट गर्नुहोस्
Share: