रेम बिक पोखरा, २३ भदौ । ‘आज कृपया कसैले पनि मलाई काठमाण्डौ किन गएनस् सँघर्षको लागि ? भनेर नसोधिदिनुहोला ।’ विनोद बाँनीयाले यसरी कुरा थाले । हुन पनि बाँनीयालाई पोखरा बसेर माथि उठ्न नसकेको गायक भनेर धेरै ठाउँमा चर्चा हुने गर्छ । र, हरेक पटक मिडियासंगको बसाँईमा उनले अक्सर यो प्रश्नको सामना गरेका छन् ।
आईतबार साँझ माहौल अलिक फरक थियो । ‘काठमाण्डौ किन नगएको ?’ भनेर कसैले सोधेनन् पनि । यद्यपी आफु काठमाण्डौ नजानुको कारण भने उनले प्रस्ट्याईरहेका थिए । ‘सबैजना काठमाण्डौ नै हानिएपछि पोखराको लागि सोँच्ने चाँहि को त ?’ बाँनीया व्यक्तिगत स्वार्थभन्दा अलिक माथि उठ्दै भने–‘पोखराकै लागि केहि गरौँ र आफुसहित पोखरालाई पनि चिनाऔँ भन्ने सोँचेर नै मैले यो कदम उठाएको हुँ ।’
पोखरामै बसेर उनले गीत गाए । एल्बमहरु बजारमा ल्याए । र, राष्ट्रियस्तरसम्मै पहुँच राखे । लामो समय देखि पोखराकै ‘ओपन हाउस’ गजल रेस्टुरेन्टमा गाए । ‘एक दशक नै भयो रेस्टुरेन्टमा गाएको’, उनी भन्दै थिए–‘तर मेरो एउटा सपना थियो, आफ्नै एउटा गजल रेस्टुरेन्ट होस् र त्यसैमा आफुले गाउन पाईयोस् ।’ लामो समयदेखि मनभित्रै पालेको त्यो सपनाले आईतबार साकार रुप पाएको थियो ‘मेलोडी क्याफे’को रुपमा । र, क्याफे संचालनको पहिलो दिन आईतबार साँझ उनैले पहिलो गीत गाए र उपस्थित सबै अतिथि र ग्राहकहरुले तालि बजाए ।
विनोद बाँनीयाले दिएको जानकारी अनुसार क्याफे संचालनमा ल्याउन ८० लाख रुपैँया खर्च भएको छ । र, यो उनी एक्लैको लगानीमा संचालनमा आएको भने होईन । उनलाई व्यवसायमा साथ दिने उनका साथीहरु पनि छन् । युवा व्यवसायीहरु अशोककुमार गुरुङ, गणेश बसौला र शेखर शेरचन उनका व्यवासायिक सहपाठीहरु हुन् ।
महेन्द्रपुलमा खोलिएको रेस्टुरेन्टमा दिउँसो र साँझ गरि दुई सिफ्टमा ग्राहकहरुलाई सेवा प्रदान गरिनेछ । ‘मेलोडी थिम’अनुसार सेवा प्रवाह गरिने बाँनीयाले बताए । पुरानो ओपन हाउस रहेकै स्थानमा संचालनमा ल्याईएको रेस्टुरेन्टमा एकैचोटी ७० जना खानबस्न सक्छन् । साँझमा रामभक्त जोजिजु, ईतु पल, मालती गुरुङ, विनोद बाँनीया, आशिष दास दियाली लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ । संगीतको धुनसंगै खानपिनमा रमाउने ग्राहकहरुका लागि मेलोडी क्याफे गतिलो गन्तब्य हुने बाँनीयाले विश्वास दिलाए ।
क्याफेको आईतबार साँझ कवि तीर्थ श्रेष्ठले विधिवत उद्घाटन गरेका थिए । उनले विनोद बाँनीया पोखराको एउटा उदाहरण भएको बताउँदै अन्य युवाले पनि उनीबाट सिक्नुपर्ने धेरै कुरा रहेको बताए । उद्घाटनमा आएका सम्पूर्ण अतिथि तथा ग्राहकहरुबाट शुभकामना पाईरहँदा उनले भन्दै थिए,‘यति धेरै माया गर्ने र मेरो भलो चाहने आफन्तहरु पोखरामा छन् र त मलाई पोखरा छाड्न मन लाग्दैन ।’
